स्ववियु निर्वाचनको मुखमा, विद्यार्थी संगठन आन्तरिक किचलोमा
शिक्षाखबर डेस्क
५ माघ २०७५, शनिबार
no immg

काठमाडौं / त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मिति तय गरेपनि प्रमख दल निकट विद्यार्थी संगठन भने आन्तरिक किचलोमा जेलिएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपनि विद्यार्थी संगठनबीच एकता हुन सकेको छैन ।
स्ववियु निर्वाचनको समयसम्म पनि एकता नभए दुई विद्यार्थी संगठनबीच संयुक्त प्यानल बनाएर उम्मेदवारी दिने तयारी रहेको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । जेठ ३ गते नै पार्टी एकता भएपनि नेतृत्वको उदासीनताका कारण विद्यार्थी संगठनको एकता हुन नसकेको हो । एकता हुन नसक्दा त्यसको प्रभाव स्ववियु निर्वाचन नजिकँदा परेको हो । यस्तै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ पनि नेतृत्वको कार्यशैलीको विषयलाई लिएर किचलोमा गाँजिएको छ ।
नेतृत्वलाई दबाब दिन भन्दै नेविसंघको एउटा असन्तुष्ट पक्षले पार्टी सभापति शेरबहादुर देउवा र अर्को पक्षले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राजीनामा दिएका छन् । गत भदौ मै नेविसंघको कार्यसमितिको कार्यकाल सकिएपनि दुई पटक थपिएको समयावधी पनि गत बुधबार सकिएको छ । यद्धपी माउ पार्टी कांग्रेसले आगामी विहीबार केन्द्रीय समितिको बैठक बोलाएकाले सो समयसम्म यही कार्यसमितिलाई जिम्मेवारी दिइरहेको छ । प्रमुख दुई दलका विद्यार्थी संगठन नै आन्तरिक किचलोमा अल्झिँदा स्ववियु निर्वाचनका लागि त्रिविले परिपत्र गरेपनि कलेजहरुमा स्ववियु निर्वाचनको रौनकता छाउन सकेको छैन । त्रिविले आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसमा आगामी फागुन १४ गते स्ववियु निर्वाचन गराउन परिपत्र गरिसकेको छ ।

प्रतिक्रिया