काभ्रे / काभ्रेको नमोबुद्ध नगरपालिका–५, पात्लाका किसान ईश्वरी पौडेलले ६ रोपनी जग्गामा लगाएको काउलीले उचित मूल्य नपाएपछि बारीमै फुलाएर छाडेका छन् । करिब चार लाख मूल्यबराबरको काउली अहिले घरमा रहेका दुईवटा भैँसीलाई खुवाइरहेको उनले बताए । उनको खेतमा ११ हजार काउलीका बोट छन् ।
भदौमा लगाएको काउली कात्तिक अन्तिम साता फलेर खानयोग्य भएको थियो । आफूले उत्पादन गरेको काउली बिक्री गर्न उनले काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका थोक विक्रेतासँग सम्पर्क राखेका थिए । व्यापारीले प्रतिकिलो ११ रुपैयाँका दरले किनिदिने बताएको उनले जानकारी दिए । ‘त्यतिखेर बजारभाउ प्रतिकिलो ४०–४२ रुपैयाँभन्दा बढी थियो, मैले २०–२५ रुपैयाँमा किनिदेउ भन्दा पनि कुनै व्यापारीले मानेनन्,’ पौडेलले भने, ‘प्रतिकिलो ११ रुपैयाँमा दिएर व्यापारीलाई धेरै नाफा खान दिनुभन्दा बारीमै कुहाउँछु भनेर कसैलाई दिइनँ ।’ उनले बारीमा छाडेको काउली अहिले फुलेर पहेँलो भएको छ ।
उनले कात्तिकमा लगाएको काउली बेमौसमको हो । ‘बढी पैसा आउँछ भनेर बेमौसमी काउली लगाएको थिएँ, तर एक रुपैयाँको पनि बिक्री गर्न सकिनँ,’ उनले दुखेसो पोखे । ६ रोपनीमा लगाएको काउलीले उचित भाउ नपाएपछि मंसिर पहिलो साताबाट घरमा रहेका दुईवटा दुधालु भैँसीलाई नियमित रूपमा खुवाइरहेको उनले जानकारी दिए ।
‘दिनमा दुई भारीका दरले भैँसीलाई काउली खुवाइरहेको छु,’ पौडेलले भने । यो काउली बिक्री भएको भए करिब चार लाख रुपैयाँ उनलाई हाता लाग्ने थियो । तर, काउली बिक्री नभएपछि सोही जग्गाको आधा भागमा मकै रोपेका छन्, तर काउली उखेलेका छैनन् । हुर्केको मकैले काउली छोपिएको छ । त्यहीँबाट काउलीको बोट काटेर भैँसीलाई खुवाइरहेको उनले बताए ।
पौडेल ०४९ सालदेखि खेती–किसानी गरिरहेका छन् । अहिलेको जस्तो काउली बिक्री नभएर भैँसीलाई खुवाउनुपरेको उनलाई सम्झना छैन । ‘मैले अहिलेसम्म खेती गर्दा पहिलोपटक यो वर्ष काउली बिक्री नभएर फाल्नुप¥यो । केही समयअघि फर्सीसमेत बिक्री गर्न साह्रै समस्या भयो । व्यापारीले प्रतिकिलो १० रुपैयाँभन्दा बढी दिँदै दिएनन्,’ उनले भने ।
एकै गाउँमा ७० लाखको काउली नष्ट
पौडेल पूर्वगाविस अध्यक्ष पनि हुन् । अहिले अगुवा किसानको भूमिका निभाइरहेका छन् । गाउँमा उनीजस्तै ५०–६० किसानले काउली लगाएका थिए । काठमाडौंका उपभोक्तालाई भनेर फलाएको काउलीले उचित मूल्य नपाएर बिक्री नभएपछि गाउँकै गाई, भैँसीलाई किसानले खुवाउने गरेका छन् ।
गाउँबाट दैनिक चार–पाँच गाडी तरकारी कालीमाटी बजार जाने गरेको छ । एउटा गाडीले १७–१८ सय किलो तरकारी बोक्ने गर्छ । तर, यसपटक गाउँका कोही पनि किसानले काउली पठाएनन् । ‘एउटा किसानले ३–४ हजार बिरुवा लगाएका थिए, तर कसैले बिक्री गर्न पाएनन्,’ उनले भने । सो गाउँबाट नियमित रूपमा तरकारी लैजाने व्यापारीले गाउँमा ७०–८० लाखको काउली खेर गएको पौडेललाई बताएका थिए । ‘हामी कसैले काउली नदिएपछि नियमित रूपमा तरकारी लैजाने एकजना व्यापारी आउनुभएको थियो । उहाँले गाउँमा ७०–८० लाखको काउली खेर गयो । बेचेको भए पैसा आउँथ्यो, तर खेर फाल्नुभयो भन्दै हुनुहुन्थ्यो,’ उनले भने ।
पौडेलजस्तै धेरै किसानले काउली गाईबस्तुलाई खुवाइसकेका छन् । केहीको बारीमा पहेँलो फुलिरहेको काउली भने बाँकी नै छ । धेरैले काउली बिक्री नभएपछि तत्कालै काटेर फाली अरू बाली लगाएका छन् । बजारभाउ नपाएर तरकारी फाल्नुपर्ने किसानलाई राज्यले उचित क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ । ‘किसानलाई राज्यले क्षतिपूर्ति दिलाइदिने व्यवस्था भए हुन्थ्यो भन्ने लाग्छ । कतिसम्म उत्पादन गर्ने किसानलाई कति क्षतिपूर्ति दिने भन्ने मापदण्ड बनाउनुर्छ,’ उनले भने ।