काठमाडौँ / चालु आर्थिक वर्षको पहिलो छ महिनामा बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा मात्र थप ४४ अर्ब ३४ करोड रुपैयाँ कर्जा विस्तार गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस्तो कर्जा करिब ३३ प्रतिशतले बढेको हो ।
उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाले क्षेत्रगत रूपमा प्रवाह गरेको कर्जामध्ये कृषि ऋणको वृद्धिदर सबैभन्दा बढी हो । कुल कर्जाको न्यूनतम १० प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने निर्देशनका कारण पछिल्लो छ महिनामा कृषि कर्जाको विस्तार राम्रो भएको बैंकरहरू बताउँछन् ।
०७५ असारसम्म वाणिज्य बैंकले कुल ऋणको न्यूनतम २५ प्रतिशत प्राथमिकता प्राप्त क्षेत्र (कृषि, जलविद्युत्, पर्यटन र अन्य) मा लगानी गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । यसअन्तर्गत कृषिमा न्यूनतम १० प्रतिशत, जलविद्युत्मा ५ प्रतिशत, पर्यटन क्षेत्रमा ५ प्रतिशत र बाँकी ५ प्रतिशत अन्य प्राथमिकताप्राप्त क्षेत्रमा अनिवार्य रूपमा लगानी गर्नुपर्छ । सोही कारण पछिल्ला महिनामा कृषि ऋणको आकार र वृद्धिदर दुवै बढेको जानकारहरू बताउँछन् । उक्त निर्देशन पालना गर्न अब छ महिना मात्र बाँकी छ । यसको अर्थ आउँदो असार मसान्तसम्म बैंकहरूले कुल ऋण प्रवाहको न्यूनतम २५ प्रतिशत प्राथमिताप्राप्त क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने हो ।
राष्ट्र बैंकका अनुसार गत पुससम्म वाणिज्य बैंकहरूले कृषिमा ९.९३ प्रतिशत, ऊर्जामा ४.२१ र पर्यटनमा ४.४० प्रतिशत गरी कुल १८.५४ प्रतिशत कर्जा प्राथमिकताप्राप्त क्षेत्रमा लगानी गरेका छन् । गत माघसम्म वाणिज्य बैंकहरूको कुल ऋण प्रवाह २३ खर्ब ९१ अर्ब रुपैयाँ छ ।
यही तथ्यांकलाई आधार मान्दा पनि यो वर्षको बाँकी छ महिनामा ६.५ प्रतिशत विन्दुले लगानी थप्नुपर्नेछ । यसको अर्थ आउँदा ६ महिनामा २८ वटा वाणिज्य बैंकहरूले १ खर्ब ५५ अर्ब रुपैयाँ विस्तार गर्नुपर्छ । उक्त रकम सबै बैंकलाई भाग लगाउँदा एउटाले औसतमा साढे ५ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने देखिन्छ । उक्त लक्ष्य पूरा गर्न हरेक बैंकले मासिक करिब अर्ब रुपैयाँ ऋण प्राथमिक क्षेत्रमा विस्तार गर्नुपर्नेछ । बैंकहरूका लागि यो लक्ष्य सजिला नभएको विज्ञहरू बताउँछन् । बैंकरहरूले भने राष्ट्र बैंकको निर्देशन आइसकेकालेपालना गर्नुको विकल्प नभएको बताएका छन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले गत पुससम्म १ खर्ब ८० अर्ब रुपैयाँ कृषि ऋण प्रवाह गरेका छन् । यो बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल ऋण करिब साढे ६ प्रतिशत मात्र हो । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल २७ खर्ब ३७ अर्ब रुपैयाँ छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनाम प्रवाह गरेको कृषि ऋणमध्ये पशुपालनमा सबैभन्दा बढी ५७ अर्ब २७ करोड रुपैयाँ लगानी भएको छ । गत वर्षको ६ महिनाको तुलनामा चालु वर्षको सोही अवधिमा यस्तो ऋण करिब साढे २० प्रतिशतले बढेको हो । त्यसपछि धेरै कर्जा फार्मिङ (खेतीपाती) मा गएको देखिन्छ । पुससम्म पशुपालनमा २० अर्ब ४६ करोड रुपैयाँ लगानी भएको छ ।
गएको छ महिनामा कृषिमा प्रवाह भएको कर्जामध्ये यो क्षेत्रको कर्जा वृद्धिदर सबैभन्दा धेरै २९.७ प्रतिशत छ । उक्त अवधिमा वन तथा मत्स्यपालन कर्जा १७ प्रतिशतले बढेको छ भने अन्य कर्जा करिब ४४ फ्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।
रोजगारीका लागि युवा जनशक्ति बाहिरिने त्रम बढेपछि त्यसलाई रोक्न सरकारले ब्याजदरमा सहुलियत दिएर ५ प्रतिशतमा कृषि कर्जा दिँदै आएको छ । यो पनि कृषि कर्जा बढ्नुको एक कारण भएको राष्ट्र बैंकको दाबी छ ।
राष्ट्र बैंकका अनुसार गत पुससम्म बैंक तथा वित्तीय संस्थाले सहुलियत कृषि कर्जाअन्तर्गत १८ अर्ब ६१ करोड रुपैयाँ कृषि कर्जा प्रवाह गरेका छन् । उक्त अवधिमा १० हजार ८ सय ४८ जनाले यस्तो कर्जा उपयोग गरेको राष्ट्र बैंकले जनाएको छ ।