नेपाली सेनाले बनायो जिर्णा विद्यालयको भवन
शिक्षाखबर डेस्क
६ चैत्र २०७५, बुधबार
no immg

पानी पर्दा चुहिने दैलेखको एक सामुदायिक विद्यालयको जीर्ण भवन मर्मत गरिएको छ । नेपाली सेनाको इन्द्रदल गुल्म दैलेखले उक्त भवन मर्मत गरेको हो ।

सेनाले दैलेखको नारायण नगरपालिका–११ जुफियामा रहेको वडाभैरव आधारभूत विद्यालयको तीनकोठे जीर्ण भवन मर्मत गरेको हो ।

जीर्ण अवस्थामा रहेको उक्त भवन दुई लाख रुपैयाँको लागतमा मर्मत गरिएको इन्द्रदल गुल्म दैलेखका गुल्मपति सुनिलकुमार मल्लले जानकारी दिनुभयो । पत्थरको छानो रहेको उक्त भवन पानी पर्दा चुहिने र भत्कने अवस्थामा रहेको थियो ।

नेपाली सेनाले जीर्ण भवनको छानो टिन (कर्कट पाता) ले छाएको छ भने भवनमा रङरोगन समेत गरेको छ । सेनाद्वारा मर्मत गरिएको भवन विद्यालयलाई हस्तान्तरण गर्न पुग्नुभएका नगरपालिका प्रमुख रत्नबहादुर खड्काले नेपाली सेनाले महत्वपूर्ण कार्य गरेको बताउनुभयो ।

भौतिक पूर्वाधार निर्माणको जिम्मेवारी स्थानीय सरकारको रहेको बताउँदै नगरप्रमुख खड्काले आगामी आर्थिक वर्षमा सोही विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले नेपाली सेनाले समुदायको आवश्यकताका आधारमा गरेको सामाजिक कार्यले विद्यालयलाई राहत पुगेको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक मनसरा थापाले आर्थिक स्रोत कमजोर भएको विद्यालयमा सेनाले जीर्ण भवन मर्मत गरिदिएकामा धन्यवाद दिनुभयो ।

–साभार : डिसी नेपाल डटकम

प्रतिक्रिया