कास्की / पोखराको गण्डकी मेडिकल कलेजमा एमबीबीएसको सन् २०१६ को ब्याचका विद्यार्थीका लागि चैत २१ देखि हुने भनिएको परीक्षा तीन सातापछि सरेको छ ।
कलेजका कार्यवाहक प्रिन्सिपल प्रकाश बरालका अनुसार अब परीक्षाको मिति आगामी वैशाख ८ देखि हुने भएको हो । ‘असहज परिस्थितिलाई ध्यानमा राखेर त्रिविले मिति सार्यो,’ उनले भने, ‘अब चैत २६ सम्म विद्यार्थीले परीक्षा फारम भरिसक्नुपर्छ । कलेजले ती फारम चैत २९ भित्र काठमाडौंमा दाखिला गरिसक्नुपर्छ ।’ सारिएको मितिभित्र विद्यार्थी सबैलाई फारम भरिसक्नआह्वान गरिएको उनले जनाए ।
यसअघि चैत १७ सम्म फारम भरिसक्नुपर्ने सूचना जारी भएको थियो । परीक्षा चैत २१ देखि हुने भनिएको थियो । सरकारले तोकेभन्दा बढी असुल गरेको रकम फिर्तालगायत माग राखेर विद्यार्थी आन्दोलित भएपछि डेढ महिनासम्म पठनपाठन ठप्प थियो ।
गत साताबाट सञ्चालनमा आएको कलेजले अब परीक्षाबाट वञ्चित सन् २०१५ को ब्याचका विद्यार्थीले पनि नियमित परीक्षा दिन पाउने व्यवस्था गरेको बरालले बताए । ‘त्यसका लागि त्रिविले छुट्टै सूचना प्रकाशित गर्नेछ,’ उनले भने । गत फागुनमा हुने भनिएको नियमिततर्फको परीक्षा विद्यार्थी आन्दोलनका कारण हुन सकेको थिएन ।
सन् २०१५ का ८३ विद्यार्थी र २०१४ का पूरक ३ जना गरी ८६ विद्यार्थी उक्त परीक्षाबाट वञ्चित छन् । गत आइतबारदेखि कलेजका कक्षा नियमित सञ्चालनमा आएका छन् भने कलेजको अस्पतालमा पनि बिरामीको चाप पूर्ववत् बढेको छ ।