हुम्लामा मौसमी रुघाखोकी : तीन टोली बनाएर बिरामी खाेज्दै चिकित्सक
शिक्षाखबर डेस्क
१६ बैशाख २०७६, सोमबार
no immg

सुर्खेत / मौसमी रुघाखोकीबाट प्रभावित हुम्लाको ताजाकोटमा चिकित्सकको टोली बिरामी खोज्दै गाउँ पसेको छ । सुर्खेत र मुगुबाट गएका चिकित्सक तीनवटा टोली बनाएर बिरामी खोज्दै घर-घर हिँडेका हुन् ।

डा. केएन पौडेल र केशव अधिकारीको टोली वडा नम्बर १ को जिमाना, भैंसमाझमा गएको छ । टोलीमा प्रदेश स्वास्थ्य निर्देशनालयका र्‍यापिट रेस्पोन्स टिम (आरआरटी) फोकलपर्सन श्याम आचार्य पनि छन् ।
हुम्लाको मैला स्वास्थ्यचौकीमा मौसमी रुघाखोकीबाट प्रभावित बिरामीको उपचार गर्दै चिकित्सक । तस्बिर साैजन्य : श्याम आचार्य

‘हामीले हिजो साँझ स्थानीय तहका जनप्रतिनिधिसँग बैठक गरेर तीनवटा टोली बनाई स्थलगत रुपमा गाउँ पस्ने निर्णय गरेका हौं,’ अचार्यले भने, ‘स्वास्थ्यचौकीको पहुँचबाट टाढा भएका बिरामीलाई घरदैलो सेवा दिने हाम्रो उद्देश्य हो ।’

आचार्यका अनुसार डा. टेकराज भट्टराईको टोली वडा नम्बर ४ र ५ मा गएको छ । मुगुको रातामाटा प्राथमिक स्वास्थ्य केन्द्रबाट गएका डा. मनोज तिमिल्सिनाको एउटा टोली भने मैला स्वास्थ्यचौकीमै बसेर उपचार गरिरहेको छ ।सोमबार विभिन्न ठाउँका बिरामीको खकारको नमुना (थ्रोट स्वाब) समेत लिइने आचार्यले जानकारी दिए ।

पछिल्लो ३ सातामा रुघाखोकीले ९ जनाको मृत्यु भएपछि कर्णाली प्रदेश सरकारले संघीय सरकारको समन्वयमा आइतबार नेपाली सेनाको हेलिकोप्टरमा चिकित्सक र औषधि प्रभावित क्षेत्रमा पठाएको थियो ।टोलीले आइतबार पहिलो दिन मैला स्वास्थ्यचौकीमै बसेर उपचार गरेका थिए, जहाँ १ सय ३२ बिरामी आएका थिए ।

प्रतिक्रिया