काठमाडौं / नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा छुट्टै सहायक कम्पनीमार्फत डिजिटल फाइनान्सको रूपमा मोबाइल मनी सेवा सुरु गर्ने भएको छ । दोस्रो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा सेवा सञ्चालन गर्न राष्ट्रिय वाणिज्य बैंकका निमित्त कार्यकारी अधिकृत कविराज अधिकारी र नेपाल टेलिकमका प्रबन्धनिर्देशक डिल्लिराम अधिकारीले सहमतिपत्रमा हस्ताक्षरसमेत गरेका छन् ।
सहायक कम्पनीमा कुन संस्थाको कति सेयर रहेन भन्ने विषय आपसी सहमतिमा टुंग्याइने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । ‘नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक पब्लिक कम्पनी भएकाले दुवै कम्पनीको लगानीमा खुल्ने सहायक कम्पनी पनि स्वाभाविक रूपमा पब्लिक कम्पनी नै हुन्छ,’ उनले भने, ‘निश्चित समयपछि सर्वसाधारणका लागि पनि सेयर जारी गर्ने हिसाबले जाने योजनामा छौँ ।’
प्रारम्भिक सहमतिअनुसार कम्पनीको जारी पुँजी ४० करोड रुपैयाँ र अधिकृत १ अर्ब रुपैयाँ हुने बताइएको छ । यद्यपि, कम्पनी दर्तासँगै पुँजीका विषयमा यकिन हुने प्रबन्ध निर्देशक अधिकारीको भनाइ छ । २०७६ को माघसम्ममा मोबाइल मनी सेवा सञ्चालनमा ल्याउने लक्ष्यका साथ तयारी भइरहेको उनले बताएका छन् । सोही अवसरमा लर्ड बुद्ध फाउन्डेसनले आइटीका विद्यार्थीलाई पौने दुई करोडको छात्रवृत्ति दिने सम्झौतापत्रमा फाउन्डेसन र कम्प्युटर एसोसिएन नेपाल (क्यान) महासंघबीच आपसी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
चार विधामा राष्ट्रिय आइसिटी अवार्ड
सरकारले यस वर्ष विभिन्न चार विधामा नेसनल आइसिटी अवार्ड वितरण गरेको छ । जसमा नवप्रवर्तनतर्फको यस वर्षको नेसनल आइसिटी अवार्ड पाइला टेक प्रालिले प्राप्त गरेको छ । यसैगरी सार्वजनिक क्षेत्रको नेसनल आइसिटी एक्सिलेन्सी अवार्ड नेपाल प्रहरीले र निजी क्षेत्रको आइसिटी अवार्ड वल्र्ड लिंक कम्युनिकेसनले पाएका छन् । व्यक्तिगततर्फको नेसनल आइसिटी अवार्ड भने इन्जिनियर सुरेशकुमार कर्णले प्राप्त गरेका छन् ।
मुलुक डिजिटल यात्रामा अघि बढिसक्यो : प्रधानमन्त्री
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खास उद्देश्य, अठोट र गन्तव्यसहित सरकार अगाडि बढेको बताए । ‘स्मार्ट विद्यालय, आइटी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति, सूचना महामार्गलगायत कार्यक्रमसहित मुलुक सूचना प्रविधिको क्षेत्रमा तीव्र रूपमा अगाडि बढिरहेको छ,’ उनले भने, ‘आगो भर्भराउँदासमेत सूचनामा चित्त बुझाउने अवस्थाबाट हामी डिजिटल नेपालतर्फको यात्रामा अगाडि बढ्ने अवस्थामा आइपुगेका छौँ ।’