बाजुरा : बाजुराको हिमाली गाउँपालिका–५ क्युडी र ६ नम्बरको पाडीमा फैलिएको भाइरल ज्वरोले एक जनाको ज्यान लिएको छ। यी दुई गाउँमा एक सातायतादेखि भाइरल ज्वरो फैलिएको हो।
क्युडी गाउँकी ५५ वर्षीया छञ्चकला बुढाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख अशोक सिंहले जानकारी दिए। छञ्चकलाको गत बुधबार मृत्यु भएको हो। क्युडी र पाडी गाउँका सबै परिवारमा भाइरल ज्वरोबाट पीडित रहेको स्वास्थ्यकर्मीले बताएका छन्। मौसम परिवर्तनका कारण रुघाखोकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखा परेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख सिंहले बताए।
रुगिन स्वास्थ्य चौकीका प्रमुख धनबहादुर फडेरा नेतृत्वको टोली क्युडी गाउँमा गएर ९३ भन्दा बढीको उपचार गरेको छ। रुघाखोकी पूर्णरूपमा नियन्त्रणमा नआउँदासम्म एक अहेब र एक अनमी गाउँमै रहने व्यवस्था मिलाइएको छ। थप जटिल अवस्था आए स्वास्थ्यकर्मीको अर्काे टोली पठाउने तयारी स्वास्थ्य कार्यालयको छ।
त्यस्तै पाडी गाउँमा पनि भाइरल ज्वरो फैलिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले जानकारी दिए। २१ जना बिरामी भएको २ जनाको अवस्था गम्भीर रहेको जानकारी पाए लगतै स्वास्थ्यकर्मी पाडीमा पठाइएको अध्यक्ष मल्लले बताए।
हिमाली गाउँपालिकाका स्वास्थ्य संयोजक धर्मदत्त बुढा नेतृत्वको ३ सदस्यीय स्वास्थ्यकर्मीको टोली पाडी पठाइएको छ। छिमेकी हुम्लाको ताजाकोट गाउँपालिकाको मैलामा भाइरल ज्वरोको प्रकोप फैलिएपछि क्युडी गाउँमा सरेको अनुमान गरिएको छ। क्युडी र मैला आमनेसामने छन्। तर मैलामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा आइसकेको छ।जनालाई थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रिफर गरिएको छ।