तीन सय ४२ जना विद्यार्थीलाई चीनको छात्रवृत्ति
शिक्षाखबर डेस्क
२७ बैशाख २०७६, शुक्रबार
no immg

काठमाडौं / चीन सरकारले उपत्यकाका विभिन्न २३ वटा सरकारी विद्यालयमा अध्ययनरत ३ सय ४२ जना गरिव तथा जेहन्दार विद्यार्थीलाई आर्थिक सहायता प्रदान गरेको छ।

काठमाडांैस्थित चिनियाँ राजदूतावास र नेपाल–चीन साँस्कृतिक तथा शैक्षिक परिषद्ले बिहीबार ललितपुर आयोजित एक कार्यक्रममा तथा प्रविधि मन्त्री गिरीराजमणि पोख्रेलको उपस्थितिमा आर्थिक सहायता प्रदान गरेका हुन्।

प्रतिविद्यार्थी १० हजारका दरले आर्थिक सहायता प्रदान गरिएको छ। कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हौ यानछीले नेपाल र चीनबीच ऐतिहासिक कालदेखि प्रगाढ रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई जनस्तरसम्म अभिवृद्धि गर्न नेपाली विद्यार्थीले भविष्यमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरिन्।

राजदूत हौले नेपालको शैक्षिक तथा प्राविधिक क्षेत्रको विकासलाई अझ मजबुत पार्ने उद्देश्य अनुरुप ‘होप स्टार छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन्।

कार्यक्रममा शिक्षा तथा प्रविधि मन्त्री गिरीराजमणि पोख्रेलले नेपालको शैक्षिक क्षेत्रको विकासमा चीन सरकारले उपलब्ध गराउँदै आएको आर्थिक तथा प्राविधिक सहयोगको लागि चीन सरकारलाई धन्यवाद ज्ञापन गरे।

नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा.हरिशचन्द्र शाहले चिनियाँ राजदूतावासले शुभारम्भ गरेको छात्रवृत्ति नेपाली विद्यार्थीका लागि अत्यन्त महत्वपूर्ण र उपयोगी रहेको बताए। कार्यक्रममा २३ वटै विद्यालयलाई विभिन्न शैक्षिक सामग्रीसमेत प्रदान गरिएको थियो।

प्रतिक्रिया