नेपालगन्ज / जेठ महिना बित्न लाग्दा पनि बाँके जिल्लाका एक चौथाई किसानले धानको बीउ राखेका छैनन्। बीउ राख्नै नपाएपछि असार १५ मा जिल्लाका धेरै किसान रोपाइँ गर्नबाट बञ्चित हुनेछन्। कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार २४ जेठमा परेको २० मिलिलिटर वर्षापछि जिल्लामा धानको बीउ राख्न सुरु गरिए पनि बढीमा २५ प्रतिशतले मात्र धानको बीउ राखेको बताए।
सबैभन्दा बढी कोहलपुर नगरपालिकातिर बीउराख्ने काम भएको ढकालले बताए। उनले भने, ‘यो वर्ष वर्षा नभएका कारण धानको बीउराख्न ढिलो भएको हो। जेठको अन्तिमसम्म बीउराखेर असार अन्तिमसम्म पनि रोपाइँ हुने गरेको छ। यो वर्ष अलि ढिलो भएको हो।’ मोटो धानको बीउतीन हप्तामा र मसिनो धानको बीउतयार हुन चार हप्ता लाग्छ।
कृषि ज्ञान केन्द्रका अनुसार बाँकेमा झन्डै ५२ हजार हेक्टर खेतीयोग्य जमिन छ। जसको २७ प्रतिशत किसानले मात्र नियमित सिँचाइ सुविधा पाएका छन्। वर्षायाममा भने सिँचाइ ४० प्रतिशत खेतमा हुन्छ। जिल्लामा धान नै मुख्य बाली हो। दोस्रो बाली गहुँ र तेस्रो बाली मकै हो।
प्रदेश ५ सरकारको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत नरैनापुर गाउँपालिकाका– ६ गंगापुरमा आइतबार धानको बीउवितरण गरेको थियो। प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’ले प्रतिकिसान १५ किलोको दरले धानको बीउवितरण गरेकी हुन्। मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका नरैनापुर फोकल पर्शन सोहनलाल यादवका अनुसार गाउँपालिका भरि ४ हजार किसानलाई प्रतिपरिवार १५ किलोका दरले धानको बीउउपलब्ध गराइने कार्यक्रम छ। किसानलाई राधा ४ धानको बीउवितरण गरिएको हो।