काठमाडौं / शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमूना विकासका लागि छनोट भएर अनुदान प्राप्त गरिरहेका विद्यालयलाई आवश्यक विवरण बुझाउन निर्देशन दिएको छ । केन्द्रले आवश्यक विवरण उपलब्ध नगराएका ३० वटा सामुदायिक विद्यालयलाई आगामी ७ चैतभित्र विवरण पेश गर्न पत्रमार्फित निर्देशन दिएको हो ।
नमूना छनोट भएका विद्यालयले विद्यालयको गुरुयोजना, अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको विवारण, निर्देशिका बमोजिम प्रधानाध्यापकको नियुक्तिजस्ता विवरण केन्द्रमा पेश गर्नु पर्छ ।
केन्द्रले ७ चैतसम्म आवश्यक विवरण नपठाउने विद्यालयलाई सरकारले प्रदान गर्ने सुविधा कटौती हुन सक्ने पत्रमा उल्लेख छ । केन्द्रका अनुसार, अहिलेसम्म नमुना छनाेट भएका २ सय २२ विद्यालमध्ये ३० वटा विद्यालयले गुरूयाेजना, प्रधानाध्यापकको नियुक्ति र शिक्षकहरुको विवरण पेश गरेका छैनन् ।
सरकारले नमूना विद्यालय छनोटमा परेका विद्यालयलाई भौतिक पुर्वाधार, शैक्षिक गुणस्तरीयता र प्रशासन व्यवस्थापनका लागि वार्षिक डेढ करोड रुपैँया उपलब्ध गराउँदै आएको छ । त्यस्तै कार्य सम्पादनका आधारमा पनि सरकारले थप अनुदान प्रदान गर्ने गरेको छ ।