नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय नाघ्यो, शुक्रबार ५० जनामा कोरोना संक्रमण
शिक्षाखबर डेस्क
९ जेष्ठ २०७७, शुक्रबार
no immg

काठमाडौं / नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय नाघेको छ । शुक्रबार मात्रै थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दिउँसो २० जनामा र बिहान ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय सात पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लोपटक बाँकेमा र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा नयाँ संक्रमित थपिएका हुन् ।

बैतडीको शिवनाथका २२ वर्षीय पुरुष, डडेल्धुराको परशुराम नगरपालिकाका २८ वर्षीय पुरुष र कैलालीका १९, २३ र २६ वर्षीय पुरुषमा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

उनीहरूको सेती प्रादेशिक अस्पतालमा नमुना परीक्षण गरिएको थियो ।

यसैगरी बाँकेमा १३ जनामा संक्रमण देखिएको छ । भेरी अस्पतालमा भएको परीक्षणमा १८ देखि ६१ उमेर समूहका पुरुषहरूमा कोरोना पोजेटिभ देखिएको हो ।

१३ जना नरैनापुरका छन् । एकजना राप्तीका रहेका छन् । यस्तै, मोरङका ४१ वर्षीय पुरुषमा पनि पोजेटिभ देखिएको छ ।

शुक्रबार एकैदिन २१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट नेपालगन्ज उपमहानगरपालिका ८ का २१ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले बताए ।

पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट तीन हजार आठ सय १९ जनाको नमुना परीक्षण भएको छ । आरडिटी विधिबाट तीन हजार चार सय २१ जनाको परीक्षण भएको छ ।

प्रदेश नम्बर १ मा एक हजार चार सय १४, प्रदेश नम्बर २ मा पाँच हजार नाै सय ६, बागमती प्रदेशमा चार सय ७८ र गण्डकी प्रदेशमा ६ सय ७८ जना क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा १५ हजार नाै सय ८९, कर्णाली प्रदेशमा ७ सय ३५ र सुदूरपश्चिमा दुई हजार ६ सय २९ गरी देशभरि २७ हजार आठ सय २९ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया