काठमाडौँ / नेपाली सेनाले हालसम्म ‘जी टू जी’ प्रक्रियामार्फत चीनबाट २८ हजार ३ सय ८५ थान पीसीआर किट, सोही संख्यामा परीक्षणका लागि आवश्यक रिएजेन्ट तथा थ्रोट स्वाब कलेक्टर टुल्स ल्याएको छ । संक्रमण तीव्र गतिले बढिरहेका बेला यी सामग्री मुलुकका स्वास्थ्य संस्थाको आवश्यकताको तुलनामा न्यून हो । कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रस्थित उच्च स्रोतबाट प्राप्त तथ्यांकअनुसार सेनाले यसपटक ल्याएबराबर नै सामग्रीहरु अझै आउने बाँकी नै छ ।
चैत १६ को मन्त्रिपरिषद् बैठकको निर्देशनअनुसार सेनाले चीनबाट २ अर्ब २६ करोडमा २ सय ४३ टन स्वास्थ्य सामग्री खरिद गर्दा त्यसमा पीसीआर परीक्षणका लागि आवश्यक पर्ने सामग्री भने करिब ५७ हजार थान मात्रै रहेको खुलेको हो ।
स्रोतका अनुसार यी सबै सामग्री सेनाले समन्वय गरेर खरिद गरे पनि खरिद सूची भने सेनाले बनाएको होइन । ‘स्वास्थ्य मन्त्रालयमा रहेका विज्ञहरुले सूची बनाउँदा नै पीसीआर परीक्षणका लागि आवश्यक सामग्री थोरै संख्यामा राखिएको देखियो,’ स्रोतले भन्यो, ‘सामान खरिद नै गरेपछि किन यति थोरै संख्या राखियो त्यो त सूची बनाउनेले मात्रै भन्न सक्ला ।’
यस्तै सेनाले पीसीआर किटका साथै चीनबाट विभिन्न ६९ वटा स्वास्थ्य सामग्री खरिद गर्नका लागि सम्झौता गरिसकेको छ । जसमध्ये दुईपटक हवाईमार्ग र एकपटक स्थलमार्ग गरेर लगभग ५४.९ टन सामग्री सेनाले नेपाल ल्याइसकेको छ ।
सेनाले तीन चरण गरेर देशमा ल्याएका अन्य सामग्रीमा १ लाख ८८ हजार ४ सय थान विभिन्न साइजका डिस्पोजेबल गाउन, १ लाख ४९ हजार ९ सय थान विभिन्न साइजका डिस्पोजेबल सुरक्षित लुगा, ७४ हजार ६ सय थान सामान्य गगल्स तथा पोलिकार्बोनेटयुक्त गगल्स ४७ हजार ७ सय थान छ । साथै विभिन्न आकारका डिस्पोजेबल पन्जा २६ लाख २७ हजार ३ सय थान, सर्जिकल मास्क २५ लाख ६ हजार २० थान, सुरक्षित मास्क २ लाख १२ हजार ४ सय थान छन् ।
यस्तै उच्च स्रोतका अनुसार चीनबाट डायलसिस गर्ने मेसिन ३० वटा, फगर मेसिन ३५ वटा तथा पल्स अक्सिमिटर २ सय वटासहित करिब ५० वटाभन्दा बढी सामग्री ल्याइसकेको छ । हालसम्म सेनाले यसरी विभिन्न तीन चरणमा गरेर ल्याएको सामग्री त्रिभुवन विमानस्थलस्थित ११ नम्बर बाहिनीकै वेयरहाउसभित्र राखेको छ ।
सहयोगमै प्राप्त पीसीआर किटले परीक्षण
सेनाले ल्याएको स्वास्थ्य सामग्रीमा पीसीआर परीक्षण गर्ने सामग्रीको संख्या थोरै भए पनि हाललाई अभाव नरहेको स्वास्थ्य मन्त्रालय स्रोतको दाबी छ । स्रोतका अनुसार त्यस्ता सामग्री ठूलो संख्यामा मौज्दात नरहे पनि समय समयमा डेलिभरी प्राप्त भइरहेकाले अभावै भने छैन ।
‘विभिन्न देशबाट सामानहरु प्राप्त भएको छ । साथै सामान खरिद प्रक्रिया पनि अगाडि बढेकै छ । त्यसैले अभाव नै होलाजस्तो त देखिन्न,’ मन्त्रालय स्रोतले भन्यो, ‘फेरि पनि अर्को १ लाख ३१ हजार जति पीसीआर किट किन्नका लागि पनि प्रक्रिया अगाडि बढेको छ ।’
नेपाललाई पछिल्लोपटक चीन, भारत, स्विजरल्यान्ड तथा दक्षिण कोरियाबाट समेत केही हजार थान पीसीआर परीक्षणका लागि आवश्यक किट तथा रिएजेन्ट प्राप्त भएको थियो । सहयोगमा १ लाख बढीको संख्यामा त्यस्ता सामग्री प्राप्त भएको थियो ।
राष्ट्रिय जनस्वस्थ्य प्रयोगशालाले पनि पीसीआर परीक्षणका लागि अहिले सामग्री अभाव नभएको जनाएको छ । सामग्री अभाव भएर परीक्षण नै रोकिने अवस्था नभए पनि प्रयोगशालासम्बद्ध चिकित्सकहरू परीक्षणको दायरा बढाउनका ठूलै चुनौती देखिरहेका छन् ।
थप खरिदको तयारी
सीसीएमसीस्थित उच्च स्रोतका अनुसार थप स्वास्थ्य सामग्री खरिद गर्नका लागि केन्द्रले प्रक्रिया अगाडि बढाएको छ । केन्द्रले आगामी महिनाका लागि आवश्यक सामग्री भनेर खरिदका लागि बनाएको सूचीमा मेडिकल सामग्री १६ वटा, औषधि १ सय २ वटा, आईसीयूमा ५ सय जना बिरामीलाई १५ दिन राख्नका लागि आवश्यक ७० थरी सामग्रीहरुलगायत छन् ।
यसका साथै उक्त सूचीमा पीसीआर रिएजेन्ट, आरएनए एक्सट्र्याक्सन किट १ लाख ३२ हजार र भीटीएम १ लाख ४५ हजार २ सय थान, तथा पोर्टेबल पीसीआरका लागि आवश्यक रिएजेन्ट र आरएनए एक्सट्र्याक्सन किट १३ हजार २ सय वटा छन् । नयाँ खरिद सूचीमा पनि १ लाख २१ हजार थान आरडीटी किटलाई समावेश गरिएको छ ।
यस्तै राष्ट्रियस्तरको तयारीका लागि एन ९५ मास्क करिब ५२, ५६ लाख सर्जिकल मास्क, पन्जा २७ लाख, गगल्स ४ लाख, गाउन ४ लाख ७० हजार, ह्यान्ड सेनिटाइजर सानो बोतल ५ लाख थान (विदेशबाट आउनेका लागि) तथा १ लाख बोतल ठूलो ह्यान्ड सेनिटाइजर छन् ।
संक्रमितहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै केन्द्रले यो सूची तयार पारेको हो । सूचीलाई उच्चस्तरीय समन्वय समितिले पास गरेर मन्त्रिपरिषद्मा लगिनेछ । मन्त्रिपरिषद्ले तय गरेको प्रक्रियाका आधारमा खरिदको काम अघि बढ्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ६ लाख जनाको पीसीआर परीक्षण गर्ने घोषणा गरेसँगै सीसीएमसीले थप १ लाख ३२ हजार थान पीसीआर किट तथा अन्य आवश्यक सामग्री पनि खरिद गर्नका लागि प्रक्रिया अगाडि बढाए पनि पीसीआर मेसिन खरिद गर्न भने चासो देखाएको छैन ।
हाल मुलुकका २० ठाउँमा दैनिक सरदर २ हजार ५ सय वटासम्म पीसीआर नमुना परीक्षण हुने गरेको छ ।