काठमाडौं- दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा उत्रिएका नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियू र प्रहरीबीच झडप हुँदा दर्जनभन्दा बढी नेता कार्यकर्ता घाइते भएका छन्।
काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पस अगाडि निकालिएको मसाल जुलुसलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो। प्रहरीमाथि नै विद्यार्थी नेता कार्यकर्ताले ढुङ्गा बर्साउन थालेपछि लाठी चार्ज गरिएको थियो।
झडपमा विद्यार्थी संगठनका अध्यक्ष ऐन महर, सचिव आरसी लामीछानेलगायत नरेश रोकाय, उमेश आचार्य, अभिशेक सुवेदी, कमल दंगाना, प्रकाश भुजेल, र जयराम बास्तोलासहित दर्जन बढी नेता तथा कार्यकर्ता घाइते भएका छन्।
उनीहरुको हाल काठमाडौं मोडल अस्पतालमा उपचार चलिरहेको छ। यस्तै, विरोधको क्रममा पक्राउ परेका मनराज बापा र सुरेश घर्तिलाई प्रहरीले रिहा गरेको छ।
बुधबार दलविभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेकपा एमालेको माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको छ।
त्यस्तै, जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको छ ।
यसअघि पार्टी विभाजनमा लागि केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत पुग्नुपर्ने व्यवस्था थियो। तर, अहिले अध्यादेशमा केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने व्यवस्था गरिएको छ।
साभार : नेपाल लाइभ
तस्बीर: वर्षा शाह