विद्यालयको दिवा खाजाको रकममा अनियमितता, लकडाउनको बेला खाजा भन्दै करोडाैँ निकासा
शिक्षाखबर डेस्क
५ भाद्र २०७८, शनिबार
no immg

५ भदाै, धनुषा । विद्यालय बन्द भएको अवस्थामा पनि विद्यालयहरूले दिवा खाजा बापतको पैसा लगेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको ५८ औं प्रतिवेदन अनुसार लकडाउन भएपछि विद्यालय बन्द भएको अवस्थामा पनि विद्यार्थी दिवा खाजाका नाममा २१ करोड ४२ लाख लगेको पाइएको हो ।

कोरोना संक्रमण नियन्त्रणका लागि २०७७ साल चैत्र ११ गतेबाट देशव्यापी लकडाउन लागु गरिएको थियो । सोही अवधिदेखि असारसम्म धनुषाको नगरपालिकाले एक करोड १३ लाख रुपैयाँ, गणेशनाथ चारनाथ नगरपालिकाले ८१ लाख, सिरहाको सिरहा नगरपालिकाले एक करोड ३८ लाख, रौटहतको फतुवा नगरपालिकाले ९७ लाख र गरुडा नगरपालिकाले ७७ लाख रुपैयाँ लगेको देखिएको छ ।

लकडाउनको अवधिमा विभिन्न १३ गाउँपालिकाले दिवा खाजा भनेर ६ करोड ३ लाख लगेको पाइएको छ । त्यस्तै, विभिन्न २८ नगरपालिकाले लकडाउनको बेलामा नै  १४ करोड २१ लाख ६८ हजार रुपैयाँ लगेका छन् ।

त्यसैगरी, राैतहटको परोहा नगरपालिकाले त दिवा खाजा वापतको रकम अभिभावकलाई बाँडेको उल्लेख गरिएको छ । उक्त नगरपालिकाले १ करोड १७ लाख रुपैयाँ निकासा गरेको देखिएको छ ।

सरकारी विद्यालयमा विद्यार्थी आकर्षित गर्न र भर्नादर बढाउन सरकारले दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । अहिले सो रकममा मनपरी भएको र अनियमितता लुकेको महालेखाको प्रतिवेदनले देखाएको छ ।

प्रतिक्रिया