विद्यालय कर्मचारीलाई तलब : कतै खुसी, कतै दुःखी
शिक्षाखबर डेस्क
२१ आश्विन २०७८, बिहीबार
no immg

२१ असोज, बागलुङ । नेपाल सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा विद्यालय कर्मचारी, सहयोगी र बालविकास सहजकर्ताको मासिक तलब वृद्धि गर्ने घोषणा गर्यो । तर, बागलुङका केही स्थानीय तहले अझै उक्त घोषणा कार्यान्वयन गर्न सकेका छैनन् ।

सङ्घीय सरकार र स्थानीय सरकारको सझेदारीमा वृद्धि हुने भनिएको तलब केही स्थानीय तहमा भने वृद्धि हुन सकेको छैन । जिल्लाकै पुरानो नगरपालिका बागलुङ नगरपालिकाले बालविकास सहजकर्ताको मात्रै तोकिएअनुसारको तलब वृद्धि गरेको छ ।

बालविकास सहजकर्ताको तलब मासिक ६ हजारबाट वृद्धिभएर १५ हजार पुर्याइएको छ । विद्यालय कर्मचारी र सहयोगीको तलब तोकिए बमोजिम वृद्धि नभएको नेपाल विद्यालय कर्मचारी परिषद् बागलुङका अध्यक्ष ललितबहादुर क्षेत्रीले बताए । रु सात हजार मासिक तलब खाँदै आएका विद्यालय सहयोगीको तलब मासिक ८ हजार पुगेको छ । यो शिक्षा विभागले पठाउने सशर्त शीर्षकको तलब हो । ११ हजार पाँच सय रुपैयाँ तलब लिँदै आएका विद्यालय कर्मचारीको तलब १३ हजार पाँच सय पुर्याइएको छ ।

बजेटले सङ्घीय सरकारले पठाउने बजेटमा स्थानीय तहले साझेदारी गरेर तलब वृद्धि गर्न भनेको थियो । तर, १८ हजार ५०० पाउनुपर्ने विद्यालय कर्मचारीले १३ हजार ५ सय र १५ हजार पाउनुपर्ने विद्यालय सहयोगीले ८ हजार मात्रै पाउने भएका हुन् । “नगरसभाले बजेटको व्यवस्था गरेको रहेनछ, हामीले तोकिएबमोजिम दिन्छौं भनेर भएन, जे आउँछ त्यही दिने हो”, बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले भने । तोकिए बमोजिमको तलब नपाएकोमा विद्यालय कर्मचारी र सहयोगी आक्रोशित छन् । “अरु के के गर्न बजेट हुन्छ, श्रमजिवीलाई दिने बजेट नहुने ?”, तलब वृद्धिका लागि नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै क्षेत्रीले भने, “आन्दोलन हुन्छ, तोकिए बमोजिम तलब पाउनुपर्छ ।”

जिल्लाको जैमिनी गरपालिकाले बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको तलब वृद्धि गरेको छ । तोकिए बमोजिम तलबमा कायम नभए पनि नगरले समेत साझेदारी गरेर तलब वृद्धि गरेको हो । तह अनुसार दुई हजारदेखि सात हजार ५०० सम्म तलब खाँदै आएका विद्यालय सहयोगीको तलब १० हजार र १३ हजार पाँच सय पुर्याइएको छ ।

“कक्षा १ देखि ३ सम्म चलेका विद्यालयका सहयोगीलाई १० हजार र बाँकी सबै सहयोगीलाई १३ हजार ५०० कायम गरेका छौं”, जैमिनी नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले भने, “बालविकास सहजकर्ताको १५ हजार र विद्यालय कर्मचारी सबैको १८ हजार ५०० पुगेको छ ।” यसअघि सहजकर्ताले ६ हजार र विद्यालय कर्मचारीले ११ हजार ५०० तलब लिँदै आएका थिए ।

काठेखोला गाउँपालिकाले पनि पालिकाको बजेट अनुसार तलब वृद्धि गरेको छ । बालविकास सहजकर्ताको तलब शतप्रतिशत वृद्धि गरेर १२ हजार पुर्याइएको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले बताए । शिक्षा विभागले उपलब्ध गराउने रु आठ हजारमा गाउँपालिकाले चार हजार थप गरेको हो । विद्यालय सहयोगीका लागि भने तहअनुसार नौ हजार, १२ हजार र १३ हजार पु¥याइएको छ । यसअघि उनीहरुले चार हजार, चार हजार ५०० र सात हजार ५०० पाउँदै आएका थिए ।

प्राथमिक, आधारभूत र माध्यमिक गरेर तीन तहमा कार्यरत विद्यालय सहयोगीले तह अनुसारको तलव वृद्धि गरिएको हो । विद्यालय कर्मचारीको लागि १७ हजार पुर्याइएको छ । “बजेटको स्रोत अनुसार वृद्धि भएको छ, एकै पटक ठूलो आर्थिक भार थेग्न पनि गाह्रो छ”, उनले भने । बरेङ गाउँपालिका, गलकोट नगरपालिका र बडिगाड गाउँपालिकाले पनि तलब वृद्धि गरेका छन् । अन्य स्थानीय तहले भने तलब वृद्धि भएको विषयमा जानकारी सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया