एम्बुलेन्स कुर्दाकुर्दै मृत्यु
शिक्षाखबर डेस्क
२७ फाल्गुन २०७४, आईतवार
no immg

जुम्ला : पातारासी गाउँपालिका-४ का धनबहादुर बुढालाई शनिबार दिउँसो उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा मृत्यु भयो। ४२ वर्षीय उनलाई दमको व्यथाले च्यापेपछि बिहान घरबाट स्ट्रेचरमा बोकेर ल्याउँदै गर्दा ज्यान गएको हो।

घरबाट साढे दुई घन्टा बोकेर ल्याएपछि उर्थुचौतारामा एम्बुलेन्सको प्रतीक्षा गर्दागर्दै उनको निधन भएको हो। यसअघि पनि पातारासीकै विभिन्न बस्तीबाट उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा धेरै बिरामीको अकालमा ज्यान गएको छ। अकस्मात् चोटपटक लाग्दा होस् वा प्रसूति व्यथा लाग्दा, बिरामी अस्पतालसम्म पुग्नै भ्याउँदैनन्।

‘घरसम्म एम्बुलेन्स पुगेको भए बाबाले ज्यान गुमाउनुपर्ने थिएन’, मृतकका छोरा लालु बुढाले भने, ‘गाउँपालिकाको एम्बुलेन्स खोज्दा भेटिएन। प्रतिष्ठानको एम्बुलेन्स बोलाउन र पुग्न ढिलाइ हुँदा बाबाको मृत्यु भयो। सामान्य अक्सिजन नपाएरै बुबाले ज्यान गुमाउनुपरेको उनले गुनासो गरे।

उनका अनुसार बुबाको मृत्युपछि बल्लतल्ल पुगेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एम्बुलेन्सले आतेजाते १२ सय भाडा पनि असुल्यो। पातारासी गाउँपालिकाका धेरैजसो आपतकालीन बिरामीलाई घरायसी तथा प्राथमिक उपचारपछि स्टे«चरमा बोकेर थप उपचार गर्न प्रतिष्ठान लैजाँदै गर्दा ढिलो भएका कारण बाटोमै ज्यान गुमाउनुपरेको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका मैया महताराले बताइन्।

यता, उर्थुचौतारामा निर्माणाधीन पक्की पुल समयमा नबन्दा गाउँपालिकालाई भारतीय सहयोगबाट प्राप्त भएको एम्बुलेन्स सञ्चालनमा पनि समस्या भएको छ। सदरमुकाम खलंगा र गाउँपालिकालाई जोड्ने पक्की पुल नबन्दा सबैभन्दा बढी मर्कामा बिरामी नै परेका छन्। गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहराले छिटो पुल निर्माणका लागि ठेकेदारलाई ताकेता गरेको बताए। ‘गाउँगाउँसम्म सडक विस्तार भएको छ, पुल नबन्दा सवारी सञ्चालनमा समस्या भएको हो’, उनले भने, ‘जेठसम्म पुल निर्माण सम्पन्न भएर गाडी चल्न थाल्नेछ। त्यसपछि कसैले अकालमा ज्यान गुमाउनु पर्दैन’, उनले भने।

प्रतिक्रिया