२६ कार्तिक, काठमाडाैँ । प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सिटीइभिटी)ले नर्सिङ क्याम्पसका लागि भर्ना प्रक्रिया सुरू गर्ने भएको छ । आफ्नै १०० शय्याको अस्पताल भएका नर्सिङ क्याम्पसका लागि सिटिइभिटीले भर्ना सुरू गर्ने तयारी गरेको हो ।
सिटिइभिटी अन्तर्गतका अन्य विषयको भर्ना प्रक्रिया यस अघि नै शुरू भइसकेको छ । यद्यपी, नर्सिङको भर्ना भने अझै हुन सकेको छैन ।
शिक्षामन्त्री तथा सिटिइभिटीका अध्यक्ष समेत रहेका देवेन्द्र पाैडेलको अध्यक्षतामा बसेको बैठकले निश्चित मापदण्ड तोकेर पुरा गरेका कलेजलाई मात्र भर्ना खुला गर्ने निर्णय गरेसँगै भर्ना पक्रिया सुरू हुन लागेको हो ।
१०० शय्या भएका नर्सिङ क्याम्पसका लागि पिसिएल नर्सिङ अध्यननका लागि भर्ना खुलाउने तयारी गरेको सिटीइभिटीका सूचना अधिकारी अनिलमुनी बज्राचार्यले जानकारी दिएका छन् ।
पछिल्लो तथ्यांक अनुसार सय शय्याका आफ्नै अस्पताल भएका नर्सिङ क्याम्पसको संख्या २४ छ । ती २४ क्याम्पसमध्ये ७ वटा सिटीइभिटीका आंगिक हुन् भने १७ वटा निजी स्तरबाट सञ्चालित छन् । अब सिटिइभिटीले सुचना निकालेसँगै ती कलेजहरूमा नर्सिङका लागि भर्ना सुरू गरिने बताइएको छ ।
नर्सिङ कलेज सञ्चालनका लागि अनिवार्य रुपमा एक सय शय्याको अस्पताल हुने व्यवस्था चिकित्सा शिक्षा ऐनको दफा १२ मा छ । चिकित्सा शिक्षा ऐनको सोही व्यवस्था अनुसार भर्ना प्रक्रिया सुरू गर्ने निर्णय भएको हो ।
अबको केही दिनमा नै भर्ना प्रक्रिया सुरू हुने जानकारी दिइएको छ ।