६ मंसिर, अष्ट्रेलिया । अष्ट्रेलियाले कोरोना भाइरसका कारण बन्द गरेको सिमानाका खुल्ला गर्ने भएको छ । डिसेम्बर १ देखि विद्यार्थी र दक्ष व्यक्तिहरूले अष्ट्रेलिया प्रवेश गर्न पाउने प्रधानमन्त्री स्कट मोरिसनले जानकारी दिएका छन् ।
प्रधानमन्त्री मोरिसनका अनुसार दक्ष विदेशी कामदार र जापान र कोरिया लगायतका पूर्ण खोप लगाएका नागरिकहरू व्यक्तिहरूले क्वारेन्टाइन नबस्नेगरी नै अष्ट्रेलिया प्रवेश गर्न पाउनेछन् ।
कोरोना भाइरसको महामारी फैलिएपछि गत मार्चदेखि अष्ट्रेलियाले कडा रूपमा सिमानाकाहरू बन्द गरेको छ । अष्ट्रेलियाका नागरिकहरू पनि कडा प्रतिबन्धमा बसिरहेका थिए ।
प्रधानमन्त्री मोरिसनले सोमबार सिमानाका खोल्ने घोषणा गर्दै ‘अगाडी बढ्न महत्वपूर्ण कदम’ भएको संज्ञा दिए । अष्ट्रेलियन सरकारले डिसेम्बरको सुरूबाट जनवरीको अन्तिमसम्म करीब २ लाख मानिसहरू अष्ट्रेलिया प्रवेश गर्नसक्ने प्रक्षेपण गरेको छ ।
अष्ट्रेलियाकी गृहमन्त्री करिन एन्ड्र्युजले अष्ट्रेलिया जानेहरूले ३ दिन अगाडी कोरोना परीक्षण गर्दाको नेगेटिभ रिपोर्ट भने देखाउनुपर्नेछ ।
अष्ट्रेलियाले करीब ८५ प्रतिशत नागरिकहरूले पूरा मात्रामा खोप लगाइसकेपछि सिमा खोल्ने तयारी गरिरहेको थियो ।
कोरोना भाइरसको महामारीका कारण अन्तर्राष्ट्रियक श्रमिक र विद्यार्थीहरू जानेक्रम बन्द हुँदा अष्ट्रेलियाको अर्थतन्त्रमा प्रभाव परिरहेको थियो ।