२४ मंसिर, चितवन । अखिल नेपाल राष्ट्रिय विद्यार्थी संगठन, अनेरास्ववियु (क्रान्तिकारी)ले विभिन्न २१ बुँदे मागसहित विज्ञप्ती जारी गरेको छ ।
संगठनले २०७८ साल असोज २१ गते स्कुल अफ हेल्थ साइन्स भरतपुरसँग भएको सहमति अनुसार माग कार्यान्वयन नभएको भन्दै ४८ घण्टाभित्र काम सुरू नगरे आन्दोलनका कार्यक्रम सुरू गर्ने चेतावनी समेत दिएको छ ।
अनेरास्ववियुको विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो महान् तथा गाैरवशाली संगठनले २०७८/०६/२१ गते उठाएको माग सहमति गरे अनुसार कार्यान्वयन नभएको हुँदा ४८ घण्टाभित्र काम सुरू नभएमा थप आन्दोलनको कार्यक्रम अगाडी बढाउनेछाैँ ।’
संगठनले लकडाउनको समयमा अनलाइनद्वारा पठनपाठको भएको समयमा सिटिइभिटीले निर्देशन दिए बमोजिम १५ प्रतिशत शुल्क छुट हुनुपर्ने, कोरोनाको नयाँ भेरियन्टबाट बच्नका लागि तत्काल सामग्रीहरूको व्यवस्था गर्नुपर्ने, ल्याबमा पर्याप्त सामग्री थप्नुपर्ने, स्टेज मर्मत गरिनुपर्ने तथा कलेज ड्रेस र कार्डबिना विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाउनुपर्ने लगायत मागहरू राखेको छ ।