वार्ता र सम्वादबाट शैक्षिक समस्या समाधान गर्न मानवअधिकार आयोगको आग्रह
शिक्षाखबर डेस्क
१७ फाल्गुन २०७८, मंगलवार
no immg

१७ फागुन, काठमाडाैँ । राष्ट्रिय मानवअधिकार आयोगले विभिन्न माग राखी शैक्षिक संस्थामा लामो समयदेखि तालाबन्दी गरिँदा शिक्षाको अधिकार उपभोगमा समस्या पर्ने भएकाले वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज प्रेस विज्ञप्ति जारी गर्दै संवेदनशील भई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न, विश्वविद्यालयमा सञ्चालन हुने पठनपाठन, परीक्षालगायत गतिविधिमा अवरोध नपुर्याउन आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “आन्दोलनरत पक्ष र पदाधिकारीबीच वार्ताको वातावरण बनाइ विद्यार्थीको पठनपाठन गर्न पाउने अधिकारको संरक्षणका लागि आवश्यक पहल गर्न आयोग त्रिभुवन विश्वविद्यालयका पदाधिकारी तथा सम्बद्ध सबै पक्षसँग आग्रह गर्छ ।” नेपाल विद्यार्थी सङ्घ, आंशिक प्राध्यापक सङ्घलगायतले विभिन्न माग राखी केही महिनादेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय, शिक्षाध्यक्षको कार्यालय, रजिष्ट्रारको कार्यालयलगायतमा तालाबन्दी गर्दा विद्यार्थी शिक्षाको अधिकारबाट वञ्चित भएका विज्ञप्तिमा उल्लेख छ ।

आयोगले विश्वविद्यालयको स्थलगत अनुगमन, विद्यार्थीसँग छलफल तथा विश्वविद्यालयका पदाधिकारीसँग जानकारीसमेत लिएको छ । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले पनि आफूहरुमाथि श्रम शोषण भएको र कामको उचित ज्याला नपाएको भन्दै दैनिक ज्यालादारीबाट मासिक ज्यालादारीमा लैजानुपर्ने माग राखी तालाबन्दी गरेको जानकारी प्राप्त भएको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया