२२ फागुन, काठमाडाैँ । आजदेखि हुने भनिएको त्रिवि सेवा आयोगको उपप्राध्यापक पदको परीक्षा स्थगित भएको छ । फागुन २२ गतेदेखि चैत ७ गतेसम्म सञ्चालन हुने भनिएको परीक्षा अन्तिम समयमा शनिबार सुचना जारी गरेर स्थगित गरिएको हो ।
त्रिवि सेवा आयोगले भने परीक्षा स्थगित नभई तालिका परिमार्जन गरिएको जनाएको छ । आंशिक प्राध्यापकहरुले गरेको तालाबन्दीको कारण परीक्षा गर्न सक्ने अवस्था नरहेकाले तालिका परिमार्जन गर्नु परेको बताइएको छ ।
त्रिवि सेवा आयोगले फागुन २२ गतेदेखि चैत २३ गतेसम्मलाई परीक्षाको समय तालिका सार्वजनिक गरेको थियो । त्यसका लागि परीक्षार्थीहरु देशभरबाट काठमाडौं आएका थिए ।
चैत ८ गतेदेखि २३ गतेसम्म हुने परीक्षालाई भने यथावत राखिएको र त्यसअघि तय भएको परीक्षा मात्रै पछाडि सारिएको जानकारी दिइएको छ ।
आंशिक प्राध्यापकहरुले त्रिवि सेवा आयोगले लिने परीक्षाको पाठ्यक्रम परिमार्जनको माग राख्दै माघ २३ गतेदेखि तालाबन्दी गरेका छन् ।