नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा
शिक्षाखबर डेस्क
२९ फाल्गुन २०७८, आईतवार
no immg

२९ फागुन, काठमाडाैँ । सरकारीस्तरमै उच्च शिक्षाका लागि नेपाली विद्यार्थी जापान गएको १२० वर्ष पूरा भएको छ । राणाकालीन सुधारवादी प्रधानमन्त्री श्री ३ देवशम्शेरले आफ्नो छोटो कार्यकालमा आठ जना नेपाली विद्यार्थीलाई सरकारी खर्चमा विभिन्न विषयमा अध्ययनको लागि जापान पठाउने निर्णय गरेका थिए ।

त्यसपछिका प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेरले ती विद्यार्थीलाई सन् १९०२ मार्च ८ मा भारत हुँदै जापान पठाएका थिए । आठ जना नेपाली विद्यार्थीलाई पढाइमा कुनै दुःख नहोस् भनेर उनीहरुको साथमा १७ जना सुसारे पनि जापान पठाइएको थियो । उनीहरुको गाइडका रुपमा स्वामी पुरानन्द गिरी पनि साथमा थिए । यसरी पहिलोपटक जापानमा उच्च शिक्षा पढ्न जाने नेपाली विद्यार्थीहरुमा जंगनरसिंह राणा र भक्तबहादुर बस्न्यात हतियार इञ्जिनीयरिङ, देव नरसिंह राणा र बालनरसिंह रायमाझी खनिज, दीप नरसिंह राणा कृषि, हेमबहादुर राजभण्डारी मेकानिकल इञ्जिनिरिङ, रुद्रलाल सिंह व्यावहारिक रसायनशास्त्र र विचारमान सिंह सेरामिक्स (माटोको भाँडा, पछि रेशम खेती) बारे थिए ।

नेपाली विद्यार्थी जापानमा उच्च शिक्षा पढ्न जान थालेको १२० वर्ष पुगेको अवसरमा जापानमा उच्च शिक्षा पढेर फर्केका नेपाली विद्यार्थीहरुको संस्था ‘जुआन’ले आज राजधानीमा अन्तरक्रियाको आयोजना गर्यो । कार्यक्रममा नेपालका लागि जापानी राजदूत युताका किकुताले नेपाल र जापानबीचको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै कोरोना महामारीका कारण विगत दुई वर्षदेखि जापानमा पढ्न जान नपाएका नेपाली विद्यार्थीहरुका लागि सोमबार १४ मार्चदेखि राजदूतावासले सहज बनाउने बताए । पछिल्लो समय नेपाली युवा विद्यार्थीहरु अध्ययनको लागि जापानमा आर्कषित हुन थालेको राजदूत किकुताको भनाई थियो ।

प्रतिक्रिया