रघुगङ्गाका सबै विद्यालयमा ‘बोल्ने किताब’को प्रयोग
शिक्षाखबर डेस्क
८ चैत्र २०७८, मंगलवार
no immg

८ चैत, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा बालबालिकालाई प्रविधिमैत्री शिक्षणका लागि ‘बोल्ने किताब’को उपलब्धता गराइएको छ । गाउँपालिकाभित्र रहेका ३३ सामुदायिक विद्यालयका आधारभूत तहको पठनपाठनलाई प्रविधिमैत्री बनाउनका लागि बोल्ने किताबलाई प्रयोगमा ल्याइएको हो ।

‘बालबालिकाको इच्छा, प्रविधिमैत्री शिक्षा’ भन्ने नाराका साथ गाउँपालिकाभित्रका सबै विद्यालयमा कक्षा ५ सम्मका बालबालिकालाई पठनपाठनमा प्रयोग गर्ने गरी उक्त बोल्ने किताबलाई प्रयोगमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

प्रतिसेट रु ६५ हजार लागतमा ३३ वटा बोल्ने किताबको सामग्री खरिद गरी सबै विद्यालयलाई उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । गाउँसभाबाट विनियोजन भएको रु २२ लाख ६५ हजार बजेटबाट प्रविधियुक्त बोल्ने किताबको डिजिटल पुस्तक र विद्युतीय कलमलगायत सामग्री खरिद गरी शिक्षकहरूलाई अभिमुखीकरणसमेत गरेर उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।

विद्यालयहरूले बालकक्षादेखि ५ कक्षासम्म उक्त बोल्ने किताबलाई पालैपालो शिक्षणमा उपयोग गर्दै आएका छन् । प्रविधियुक्त बोल्ने किताब शिक्षण विधिले विद्यार्थीलाई आकर्षण गरेको रघुगङ्गा–३ को ज्ञानोदय माविका शिक्षक उर्मिला रेग्मीले बताए । “मनोरञ्जन र ज्ञानवद्र्धक कुरालाई समेटिएको किताबमा कलमले देखाउँदा आफैँ बोलेर पढाउने भएकाले विद्यार्थीलाई थप उत्सुकता र मनोरञ्जन मिल्ने गरेको छ, शिक्षणमा प्रविधिको प्रयोगलाई बढवा दिन यसले थप प्रेरित गरेको छ”, उनले भने ।

प्रतिक्रिया