२०८ विद्यार्थी परीक्षाबाट वञ्चित
शिक्षाखबर डेस्क
७ चैत्र २०७४, बुधबार
no immg

 

तौलिहवा : परीक्षा शुल्क नतिरेका कारण कपिलवस्तुका २ सय ८ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन्। चैत ८ गते सुरु हुन लागेको एसईई परीक्षा दिनबाट यी विद्यार्थी वञ्चित भएका हुन्। विद्यालयमा नियमित नभएको र प्रयोगात्मक परीक्षामा सामेल नभएका कारण उनीहरूले परीक्षा दिन नपाउने जिल्ला शिक्षा कार्यालयले जनाएको छ।

गत वर्ष ४ सय १७ जना एसईईबाट वञ्चित भएका थिए। यस वर्ष साधारणतर्फ ६ हजार ३८३ र प्राविधिकतर्फ १ सय ५८ जनाले परीक्षा फारम भरेका थिए। साधारणतर्फ ६ हजार १७६ र प्राविधिकतर्फ १ सय ५७ जनाले परीक्षा दिन पाउने भएका छन्।

अन्य विद्यार्थी, अभिभावक र आफ्नै लापरबाहीले परीक्षा दिनबाट वञ्चित बनेको शिक्षा कार्यालय दाबी गर्छ। शिक्षा नियमावलीअनुसार विद्यालयमा अनुपस्थित र परीक्षाको शुल्क नतिरेका कारण एसईई दिनबाट वञ्चित भएको जिशिअ सुरेन्द्र पराजुलीले बताए।

सबैभन्दा बढी नेपाल आदर्श मावि शिवपुरका १६ जना परीक्षाबाट वञ्चित भएका छन्। यस्तै, पकडीस्थित छत्रपाली तीर्थादेवी माविका १४, ठूलो नन्दनगर बरगदवाका ९ जनाले परीक्षा दिन नपाउने जिशिअ पराजुलीले जनाए। ती विद्यार्थी सामुदायिक र निजी गरी १ सय १३ विद्यालयमा अध्ययनरत थिए। विद्यालयले नै उनीहरूलाई अयोग्य घोषित गर्दै एसईईको नामावलीबाट हटाएर शिक्षामा विवरण पठाएको उनले बताए।

यस वर्ष जिल्लाबाट एसईईमा ६ हजार ९ सय परीक्षार्थी सामेल हुँदै छन्। सामुदायिक, संस्थागत, प्राविधिक, एक्जाम्टेड र ग्रेटवृद्धि गरी विद्यार्थी परीक्षामा सहभागी हुने भएका हुन्। जसमा नियमिततर्फ ६ हजार १७६, प्राविधिकतर्फ १ सय ५७ र एक्जाम्टेडतर्फ ५ सय ६७ जना छन्। यस वर्ष २ वटा परीक्षा केन्द्र थपिएको विद्यालय निरीक्षक अर्जुन कुँवरले बताए। गत वर्ष कुल २६ परीक्षा केन्द्र थिए।

यस वर्ष एक्जाम्टेड परीक्षाका लागि तौलिहवाको बुद्धज्योति इंग्लिस बोर्डिङ स्कुल र गोरुसिंगेस्थित गौतमबुद्ध माविमा परीक्षा केन्द्र थपिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। प्राविधिक तर्फका सबै परीक्षार्थीको समय माईथान मावि खैरेन्द्रपुरबाट परीक्षा दिनेछन्। गत वर्ष जिल्लामा संस्थागत र एक खुला विद्यालयका नियमित र एक्जाम्टेड र ग्रेड वृद्धि गरी ७ हजार १५६ परीक्षार्थी सामेल भएका थिए।

प्रतिक्रिया