विद्यालय जाने बालबालिकामा मिर्गौलाको समस्या
शिक्षाखबर डेस्क
१२ चैत्र २०७४, सोमबार
no immg

विद्यालय समयमा आफ्ना छोराछोरीले कति पानी पिए ? दिनभरिमा कतिपटक पिसाब गरे ? भन्ने जानकारी अभिभावकले थाहा पाउनुपर्ने भएको छ । जबसम्म विद्यालय पढ्ने छोराछोरी बिरामी हुँदैनन्, तबसम्म अभिभावकलाई यसबारे कुनै जानकारी हुँदैन ।

तर, चिकित्सकले विद्यालय जाने छोराछोरीको दिनचर्या र उनीहरूको स्वास्थ्य अवस्थाबारे अभिभावकले आवश्यक जानकारी लिन सल्लाह दिएका छन् । विद्यालयमा अध्ययन गर्ने बालबालिकामा मिर्गौलाको समस्या बढी देखिएपछि चिकित्सकले यस्तो सल्लाह दिएका हुन् ।

निजी विद्यालयमा अध्ययन गर्ने ६ वर्षदेखि १० वर्ष उमेर समूहका बालबालिकामा पिसाबको बढी समस्या देखिएको काठमाडौं मेडिकल कलेजका डा. सुनीलराज मानन्धरले जानकारी दिए । उनका अनुसार बालबालिकालाई पिसाब लागेको ३० मिनेटभित्र गराइसक्नुपर्छ ।

डा. मानन्धरले कतिपय बोर्डिङ स्कुलले जनमानसमा राम्रो देखाउने नाममा विद्यार्थीलाई टिफिन समयअघि निस्कन नदिने हुँदा बालबालिकामा स्वास्थ्य समस्या देखिएको बताए ।

बालबालिकाकोे गुनासो : पिसाब फेर्न समस्या छ, पानी कम खान्छौँ

बिरामी भएर उपचारमा आएका स्कुले बालबालिकाले समयमा पिसाब फेर्न नपाउने भएकाले विद्यालय समयमा पानी कम खाने गरेको बताउने गरेको चिकित्सकको भनाइ छ । ‘सरकारीमा भन्दा निजी स्कुलमा अध्ययन गर्ने बालबालिकाको स्वास्थ्यमा समस्या धेरै देखिएको छ ।

उनीहरूमा देखिएको स्वास्थ्यको प्रमुख समस्या भनेको मिर्गौला र पिसाबको संक्रमण हो,’ बालरोग विशेषज्ञ डा.बाबुराम मरासिनीले भने, ‘निजी विद्यालयले विद्यार्थीलाई बाहिर निस्कन कडा गरेको देखियो । छिनछिनमा पिसाब फेर्न रोक लगाउने भएकाले बालबालिकामा पिसाबको संक्रमण र मिर्गौलामा समस्या भएको पाइयो ।’

चारदेखि पाँच सय एमएल पिसाब अट्छ

बालबालिका समय–समयमा पानी खाइरहन्छन् । ठूला मानिसको तुलनामा बालबालिकाको पिसाबथैली सानो हुने भएकाले छिटोछिटो पिसाब लाग्ने हुन्छ । उनीहरूको पिसाबथैलीमा चार सयदेखि पाँच सय एमएल मात्रै पिसाब अट्ने क्षमता हुन्छ ।

‘घरको शौचालयभन्दा विद्यालयको शौचालय फोहोर भएको अवस्थामा पनि बालबालिकाले प्रयोग गर्न नमान्ने देखिएको छ । त्यसैले पनि बालबालिकाले विद्यालय समयमा पानी कम खाने गरेको देखियो,’ डा. मरासिनीले भने ।

छात्रामा पिसाबको संक्रमण बढी
विद्यालयमा छात्रको अनुपातमा छात्राको संख्या बढी छ । तर, छात्राले प्रयोग गर्ने शौचालय थोरै मात्रामा छन् । लामो समयसम्म पालो पर्खनुपर्ने समस्याले उनीहरूमा पिसाबको संक्रमण बढी देखिएको चिकित्सकहरू बताउँछन् । अन्तर्राष्ट्रिय मान्यताअनुसार हरेक दुई घन्टामा एकपटक अनिवार्य पिसाब फेर्नुपर्छ । दुई घन्टा काम गर्ने ठाउँमा शौचालय अनिवार्य हुनुपर्छ ।

प्रत्येक पाँच मिनेटमा ‘ब्रेक’ दिनुपर्छ
अभिभावक संघका पूर्वअध्यक्ष सुप्रभात भण्डारीका अनुसार विद्यार्थीलाई निजी विद्यालयले बढी नियन्त्रणमा राख्ने भएकाले समय–समयमा बाहिर जान पाउँदैनन् । ‘पिसाब आउँदैपिच्छे शिक्षकलाई भन्न सक्दैनन्,’ उनले भने, ‘यस विषयमा हामीले गम्भीर रूपमा सोच्न सकेका छैनौँ ।

अब हाम्रो ध्यान विद्यार्थीको जीवनशैलीमा जोडिनेछ ।’ उनले निजी विद्यालयले लामो समयपछि मात्रै ‘ब्रेक’ दिने गरेको भन्दै त्यसलाई अन्त्य गर्न आवाज उठाउने बताए । भण्डारीले केही विद्यालयले ४५ मिनेटमा ‘ब्रेक’ दिने गरे पनि धेरै विद्यालयले टिफिन समयअघि नदिने गरेको सुनाए ।

विद्यालयले हरेक पिरियड सकेर पाँच मिनेट ब्रेक समय छुट्याउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया