सरकारले अध्यादेशमार्फत कृषिमा विदेशी लगानी भित्र्याउन लागेको भन्दै आपत्ति
शिक्षाखबर डेस्क
२९ फाल्गुन २०७७, शनिबार
no immg

काठमाडाैं / सरकारले अध्यादेशमार्फत कृषिमा विदेशी लगानी भित्र्याउन लागेको भन्दै सांसद र सरोकारवालाले आपत्ति जनाएका छन् । शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद तथा सरोकारवालाले कृषिमा वैदेशिक लगानी भित्र्याउन सरकारले अध्यादेशको सहारा लिन खोजेको भन्दै आपत्ति जनाएका हुन् ।

बैठकमा बोल्दै सांसद सोमप्रसाद पाण्डेले यसअघि नै कृषिमा विदेशी लगानी भित्र्याउनुहुन्न भनेर विभागीय मन्त्रीसहित बसेको बैठकले निर्णय गरिएको भए पनि सरकारले अध्यादेशमार्फत विदेशी लगानी भित्र्याउन लागेको बताए । सानो प्वालबाट ठूलो छिद्र बनाएर छिर्ने प्रयत्न गरिएको भन्दै उनले कृषिमा विदेशी लगानी स्विकार्न नसकिने बताए ।

सांसद देवेन्द्र पौडेलले कृषिमा विदेशी लगानी ल्याउनु नहुने बताए । कृषिमा विदेशी लगानी भित्रिए परम्परागत कृषि प्रणालीको अन्त्य हुने र कृषकको रोजगारी गुम्ने उनकोे भनाइ छ । लगानी भित्रिँदा नेपालका किसानको लगानी डुब्ने तथा व्यापारघाटा पनि बढ्ने उनको भनाइ छ ।

सांसद प्रकाश रसाइलीले देशलाई आत्मनिर्भर हुने बाटोमा लानुपर्ने बताए। कृषिमा विदेशी लगानी नभित्र्याउने भनिएको भए पनि सरकारले किन ल्याउने प्रयास गरेको हो यस सम्बन्धमा विभागीय मन्त्री र सचिवहरूसँगको छलफल आवश्यक रहेको उनको भनाइ छ ।

सांसद अमृता अग्रहरिले साना उद्योग सञ्चालनमा देश र उद्योगीहरू सक्षम रहेको बताइन् । जनताको मर्मविपरीत कृषिमा वैदेशिक लगानी भित्र्याउन लागिएको भन्दै उनले आपत्ति प्रकट गरिन् ।

सांसद बृजेश गुप्ताले विदेशी लगानीलाई निषेध गरेर देश अगाडि बढ्न नसक्ने धारणा राखे । जति प्रतिस्पर्धा बढ्छ उति जनतालाई फाइदा हुने भन्दै उनले कृषिमा विदेशी लगानीलाई मापदण्डको आधारमा भित्र्याउनुपर्ने बताए ।

प्रतिक्रिया