सुनकोसीमा लिफ्टबाट सिँचाइ
शिक्षाखबर डेस्क
१३ श्रावण २०८०, शनिबार
no immg

सिन्धुली — पर्याप्त वर्षा नभएपछि सिन्धुलीको सुनकोसी गाउँपालिका-का २ मा लिफ्टबाट सिँचाइ सुरु गरिएको छ।

साउनको दोस्रो साता हुँदा समेत प्रयाप्त वर्षा नहुँदा सिँचाइ गर्न समस्या भएपछि सुनकोसी नदीबाट लिफ्ट गरी पालिकाको माछापोखरी, माझी बस्तीमा सिँचाइ गर्न सुरु गरिएको हो।
बागमती प्रदेश सरकारको ६ लाख र स्थानीयको जनश्रमदान समेत गरी तयार पारिएको लिफ्ट सिँचाइ आयोजना शनिबार प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले उद्घाटन गरे।

सुनकोसी गढतिर क्षेत्र सुख्खाग्रस्त भएपछि बजेट व्यवस्थापन गरी लिफ्ट सिँचाइका लागि इनार निर्माण, पाइप जडान लगायतका कार्य गरिएको थियो।
आयोजनाले माछापोखरी तथा माझी गाउँका झण्डै एक हजार एक सय रोपनी जमिनमा सिँचाइ सुविधा पुग्ने भएको वडाध्यक्ष जीवन बुर्जाले जानकारी दिए।

यसअघि जेनेटर मार्फत पम्प गरेर सिँचाइ गर्दा खर्च बढी हुने र पर्याप्त पानी पनि नआउँदा समस्या हुने गरेको थियो। तर, आयोजना सुरु भएपछि भने त्यस क्षेत्रमा बाह्रै महिना सिँचाइ गर्न सहज हुने स्थानीय देवचन्द्र माझीले जानकारी दिए।

सुनकोसी गाउँपालिकाका अधिकांश स्थानमा खानेपानी तथा सिँचाइका लागि सुनकोसी नदीको पानी लिफ्ट गर्नुपर्ने बाध्यता छ।

प्रतिक्रिया