धरानमा परीक्षण गर्नेमध्ये ७८ प्रतिशतमा डेंगी
शिक्षाखबर डेस्क
२० श्रावण २०८०, शनिबार
no immg

सुनसरी — धरानका परीक्षण गर्नेमध्ये ७८ प्रतिशतमा डेंगी संक्रमण पुष्टि भएको छ । धरान उमपहानगरको स्वास्थ्य महाशाखाका अनुसार २० वटै वडामा घरघरै डेंगीका बिरामी छन् । कतिपय घरमा नौ जनासम्म संक्रमित भएर उपचार गराइरहेका छन् । शुक्रबार जाँचका लागि आएका १७२ जनाको परीक्षण गर्दा १३४ जना संक्रमित पाइएका छन् ।

संक्रमित बढ्दै गएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिरामीको चाप थेग्न गाह्रो भएको छ । निजि क्लिनिकमा पनि बिरामीको निकै चाप छ । प्रतिष्ठानको सेन्ट्रल इमर्जेन्सी, डेंगी क्लिनिक र डेंगी अस्पतालले पनि धान्न नसकेपछि उपमहानगरपालिकाले छाताचोकस्थित पुरानो अस्पताल र धरान सभागृहमा निशुल्क जाँच र औषधिको व्यबस्था गरेको छ । अधिकांश वडा कार्यालयले पनि आफ्नै पहलमा स्वास्थ्य शिविर संचालनमा ल्याएका छन् ।

धरानमा पाँच वर्षअघि पनि डेंगी फैलिएको थियो । त्यसबेला तीनै तहका सरकार बेलैमा सचेत भएकाले ‘सर्च एन्ड डिस्ट्रोय अभियान’ सफल भएको थियो । अहिले बेलैमा सचेत नहुँदा महामारी फैलिएको जनस्वास्थ्यविद्हरुले बताएका छन् । डेंगीबारे प्रतिष्ठानका स्कुल अफ हेल्थ एन्ड कम्युनिटि मेडिसिनका जनस्वास्थ्यविद् प्राडा. विजय खनाल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनलगायतले बेलैमा सचेत गराएका थिए । प्राडा खनाल २०१९ को सर्च एण्ड डिस्ट्रोयमा एक्सन कमिटिमै भएकाले गत जेठ पहिलो सातादेखि नै धरानमा डेंगी देखिएकाले अभियान सुरु गर्नपर्ने अडानमा थिए । डा. पुनले त धरानमा लार्भा नस्ट गर्ने अभियानको चरण पार भइसकेकाले महामारीमा अहिले नै ब्रेक लाग्ने सम्भावना कम भएको बताइसकेका छन् ।

‘डेंगी नियन्त्रणका लागि भारतको दिल्लीमा पब्लिक कानून बनाएजस्तै यो महामारी नहटेसम्म निश्चित बार तोकेर कम्तीमा डेढ महिनासम्म सर्च एण्ड डिस्ट्रोय अभियान समुदाय स्तरमा जारी राख्नुपर्छ,’ डा. खनालले भने, ‘अहिले नियन्त्रण गर्न नसके कात्तिक–मंसिरसम्म डेंगी देखिने र यसको मारमा सर्वसाधारण पर्ने देखिन्छ ।’ यो वर्ष डेंगीले धरानमा आठ जनाको ज्यान लिइसकेको छ । ‘१ देखि २ प्रतिशतलाई यसले जटिल बनाउँछ,’ उनले भने, ‘जटिल समस्या उत्पन्न हुँदा रगतमा प्लेटलेट्स घट्ने, रक्तचाप घट्ने, शरीरका अंगले काम नगर्ने हुन्छ ।’

जनस्वास्थ्यविद्ले सचेत गराएको करिब दुई महिनापछि गत बुधबारमात्र उपमहानगरले सबै वडामा एकसाथ एकै समयमा सर्च एण्ड डिस्ट्रोय अभियान सुरु गरेको थियो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार। जेठयतादेखि शुक्रबारसम्ममा ५ हजार ७२ जनाले जाँच गर्दा ३ हजार १२८ जनामा डेंगी देखिएको छ । यसमा बीपी प्रतिष्ठानको तथ्याङ्क समावेश छैन ।

प्रतिक्रिया