सर्लाही । ब्लड क्यान्सर रोगबाट पीडित सर्लाहीकी ६ वर्षीया बालिका सुदीक्षा मगरको ज्यान जोगाउन र उपचारका लागि आवश्यक आर्थिक प्रबन्ध मिलाउन सर्लाहीको हरिवनका स्थानीय बासिन्दाहरू स्वतःस्फूर्त रूपमा सहयोग सङ्कलन अभियानमा जुटेका छन्। आर्थिक अवस्था निकै कमजोर रहेको मगर परिवारलाई बालिकाको उपचारमा गम्भीर आर्थिक सङ्कट पर्न थालेपछि स्थानीय अगुवाहरू मिलेर ‘सुदीक्षा मगर बचाउ अभियान’ सञ्चालन गरेका हुन्। अभियान सुरु भएको तेस्रो दिनसम्म १ लाख २ हजार ३७० रुपियाँ सङ्कलन भइसकेको र बिहीबार बिहानैदेखि आर्थिक सङ्कलन कार्यलाई पुनः निरन्तरता दिइएको अभियानका सक्रिय स्थानीय सामाजिक अभियन्ता चूडामणि वाग्लेले जानकारी दिनुभएको छ।
स्थायी ठेगाना हरिवन नगरपालिका–२ अत्रौली भए पनि सुदीक्षा हरिवन–८ डाँडाटोलस्थित मामाघरमा हजुरआमा गीता मगरसँग बस्दै आएकी थिइन्। कडा किसिमको ब्लड क्यान्सर पुष्टि भएपछि बालिकाको अहिले काठमाडौँस्थित कान्ति बाल अस्पतालमा भर्ना गरी उपचार भइरहेको परिवारले जनाएको छ। छोरीलाई प्राणघातक रोग लागेको खबर पाएलगत्तै वैदेशिक रोजगारीमा रहेका सुदीक्षाका बाबु-आमा रोजगारी छोडेर नेपाल फर्किएका छन्। हाल दुवै जना छोरीको उपचारका लागि काठमाडौँमै बस्नुपरेको र आम्दानीको कुनै माध्यम नहुँदा घरको अवस्था नाजुक बनेकाले छिमेकीहरूले सहयोगको हात बढाएका हुन्।
बालिकाको जीवन रक्षाका लागि हरिवन नगरपालिका–८ का वडाध्यक्ष प्रज्ज्वल ढुङ्गानासहितको टोली ‘सुदीक्षा मगर बचाउ अभियान’ लेखिएको ब्यानरसहित स्थानीयका घर-घर र पसल-पसलमा पुगेर आर्थिक सहयोग जुटाइरहेको छ। कम्तीमा दुई लाख रुपियाँ सङ्कलन गरी बालिकाको तत्कालको उपचार खर्च पठाउने लक्ष्य राखिएको अभियन्ताहरूले बताएका छन्। स्थानीय जनप्रतिनिधि र गाउँलेको यस सहकार्यले अस्पतालमा उपचाररत बालिकाको परिवारलाई ठुलो राहत पुगेको छ।






