सप्तरी । सप्तरीको खडक नगरपालिका–११ स्थित बनौली र लालपुरका स्थानीय किसानहरूले रासायनिक मलखाद बिक्री-वितरणमा व्यापक अनियमितता र भ्रष्टाचार भएको भन्दै छानबिन तथा कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिएका छन्। श्री मिशन कृषि फर्मका सञ्चालक मनोजकुमार चौधरीले वडा नं. ११ का किसानका लागि प्राप्त डीएपी र युरिया मल वितरण गर्दा बिल नदिने, बिक्री रजिस्टर अद्यावधिक नगर्ने, किर्ते हस्ताक्षर गर्ने र वास्तविक किसानलाई मलबाट वञ्चित गराएको किसानहरूको आरोप छ। स्थानीय किसान राजेन्द्र साह, धर्मनाथ यादव, लालुप्रसाद राम, उपेन्द्रकुमार साह र नवेन्द्र रामका अनुसार वैदेशिक रोजगारीमा गएका व्यक्तिको नाममा किर्ते किसान कार्ड बनाई र एउटै परिवारका धेरै सदस्यका नाममा कोटा जम्मा गरी सरकारी दररेटभन्दा बढी मूल्य (२,५०० पर्ने डीएपीलाई ३,००० देखि ४,००० रुपियाँसम्म) मा बिक्री गर्ने गरिएको छ।
यता मल विक्रेता र स्थानीय जनप्रतिनिधिले भने अत्यधिक भीडका कारण प्राविधिक समस्या उत्पन्न भएको दाबी गरेका छन्। मिशन कृषि फर्मका सञ्चालक मनोजकुमार चौधरी र खडक–११ का वडाध्यक्ष रामकृष्ण चौधरीले वितरणका क्रममा भीड नियन्त्रण गर्न गाह्रो भएकाले तत्काल बिल जारी गर्न र रजिस्टर अद्यावधिक गर्न नसकिएको स्वीकार गर्दै कालोबाजारीको आरोप भने अस्वीकार गर्नुभएको छ। वडाध्यक्ष चौधरीका अनुसार विगतका त्रुटिपूर्ण किसान कार्ड विस्थापित गरी लालपुर्जाका आधारमा नयाँ कार्ड दिने प्रक्रिया थालिएको छ भने हालसम्म भण्डारण गरिएको १३३ बोरा डीएपी वितरण भइसकेको छ।
यसैबिच किसानहरूको उजुरीपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले छानबिन प्रक्रिया तीव्र पारेको छ। प्रमुख जिल्ला अधिकारीको कार्यालयले साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेड राजविराजबाट २०८३ वैशाखदेखि साउन मसान्तसम्म उठाइएको मलको परिमाण, वितरण गरिएको मापदण्ड, बिक्री बिल र रजिस्टरको सक्कल प्रमाणसहित दुई दिनभित्र उपस्थित हुन मिशन कृषि फर्मलाई मङ्गलबार औपचारिक पत्राचार गरेको छ। किसानहरूले सम्पूर्ण प्रमाणको सुक्ष्म छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।






