२७ साउन, एजेन्सी। अष्ट्रेलियामा शिक्षकको तलब बढ्ने प्रबल सम्भावना देखिएको छ। देशमा शिक्षकहरूको अभाव हुन थालेपछि तलब बढाउने विषयमा छलफल सुरू भएको हो।
अष्ट्रेलियाको यो क्षेत्र बढ्दो अभावसँग लडिरहेकोले शिक्षकको तलब वार्षिक १ लाख ३० हजार डलरसम्म पुग्ने अनुमान गरिएको छ।
पछिल्ला महिनाका हड्तालहरूका कारण शिक्षकको तलब बढ्ने भएको पनि बताइएको छ। राम्रो तलब र कामको अवस्थाको माग गर्दै केही हप्ताअघि शिक्षकहरूले काम गर्न छोडेका थिए।
भर्खरैको एउटा प्रतिवेदनले अप्ठ्यारो वातावरणका कारण ठूलो संख्यामा शिक्षकहरूले आगामी पाँच वर्षमा शिक्षा क्षेत्र छाड्ने योजना बनाएको देखाएको छ।
वर्तमान शिक्षकहरूलाई कायम राख्ने र नयाँ प्रतिभाहरूलाई आकर्षित गर्नेलगायत क्षेत्रलाई समेट्ने गरी शिक्षामन्त्रीले छलफल गर्ने बताइएको छ।
छलफलको मुद्दा भने शिक्षकहरूको तलब १ लाख ३० हजार डलर बनाउने र यस पेशामा सामेल हुनका लागि उत्प्रेरित गर्न विश्वविद्यालय शुल्कहरू घटाउने रहेका छन्।
न्यु साउथ वेल्सको शिक्षक महासंघका प्रमुख एन्जेलो ग्याभ्रिएलाटोसले हालै शिक्षण क्षेत्रको समस्याका कारण विद्यार्थीहरूको सम्पूर्ण पुस्ताले उचित शिक्षाबाट वञ्चित भइरहेको बताएका थिए।