काठमाडौँ, चैत १६। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीयता कार्यान्वयन प्रक्रियालाई अगाडि बढाउन मन्त्रालय मातहतका सहसचिवलाई ‘सङ्घीयता कार्यान्वयन कार्यदल’ को संयोजक तथा प्रदेश ‘फोकल पर्सन’ तोकेको छ ।
स्वास्थ्य मन्त्रालयले विभिन्न सात विषयमा कार्यदल गठन गरी संयोजक तोकेर जिम्मेवारी दिएको हो । स्वास्थ्य नीति, रणनीति कार्यान्वयका लागि मन्त्रालयका सहसचिव डा. दीपेन्द्ररमण सिंहलाई तोकेको छ भने क्षमता विकास, तालिम अभिमुखीकरणका लागि स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चूडामणि भण्डारीलाई तोकेको खबर आजको गोरखापत्रले लेखेको छ ।
स्वास्थ्य सेवा प्रवाहका लागि पुनर्जागरण महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेल, ऐन नियम निर्माणका लागि व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह तिङ्करी, कर्मचारी समायोजनका लागि वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठ, बजेट र योजनाका लागि सहसचिव डा. श्रीकृष्ण गिरी र स्वास्थ्य संरचनाका लागि मोहम्मद दाउदलाई संयोजक तोकिएको छ ।