पाल्पाका किसान टिमुरखेतीतर्फ आकर्षित: २ हजारभन्दा बढी किसानले लिँदैछन् लाभ
शिक्षाखबर डेस्क
९ भाद्र २०८३, मंगलवार
no immg

पाल्पा । खेतबारीमा लगाइएको मकै र कोदोलगायतका अन्नबाली बाँदर तथा बँडेलले सखाप पार्न थालेपछि पाल्पाका किसानहरूले वैकल्पिक खेतीका रूपमा व्यावसायिक टिमुरखेती रोज्न थालेका छन्। बाँदर र बँडेलले क्षति नपुर्‍याउने, थोरै मेहनतमा उत्पादन लिन सकिने र बजारमा सजिलै बिक्री हुने भएपछि जिल्लाका तिनाउ, रिब्दीकोट, निस्दी र रैनादेवी छहरा गाउँपालिकाका किसानहरू बाँझो जमिन तथा बारीभरि टिमुर लगाउन जुटेका हुन्। रैनादेवी छहराका धु्रवबहादुर राना र तिनाउ कचलका मीनबहादुर सारुका अनुसार असारको अन्तिम सातादेखि कात्तिकसम्म टिमुर बिक्री गरेर जिल्लाका दुई हजारभन्दा बढी किसानले वार्षिक एक लाखदेखि तीन लाख रुपियाँसम्म आम्दानी गर्दै आएका छन्।

नेपाल सरकारले खेती प्रविधि अनुसन्धानका लागि प्राथमिकतामा राखेका १२ जडीबुटीमध्ये टिमुर पनि एक परेकाले डिभिजन वन कार्यालय पाल्पाले विगत तीन वर्षदेखि यसलाई व्यावसायिक खेतीका रूपमा विकास गर्न किसानहरूलाई बिरुवा उपलब्ध गराउँदै आएको छ। कार्यालयले पहिलो वर्ष १० हजार र त्यसपछिका वर्षहरूमा वार्षिक २० हजारका दरले पश्चिम नेपालका विभिन्न जिल्लाबाट बिरुवा ल्याएर वितरण गर्दै आएको सूचना अधिकारी खिलबहादुर तामाङले जानकारी दिनुभयो। हाल किसानहरूको बढ्दो मागअनुसार टिमुरका बिरुवा उपलब्ध गराउन नै धौ-धौ परिरहेको वन कार्यालयको भनाइ छ।

डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठका अनुसार पाल्पाको अग्लो तथा ओसिलो भौगोलिक बनावट टिमुर खेतीका लागि अत्यन्तै अनुकूल रहेको छ। एकपटक बोट हुर्काएपछि वर्षौँसम्म दीर्घकालीन आम्दानी लिन सकिने र वन्यजन्तुको जोखिमबाट समेत सुरक्षित हुने भएकाले अन्नबाली जोगाउन धौ-धौ परेका पहाडी क्षेत्रका किसानहरूका लागि टिमुरखेती वरदान साबित भएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर