मुसहर समुदायको शैक्षिक ‘आइकन’ चन्द्रिका: स्नातक तह पढ्ने एक्ली बुहारी, गाउँपालिकाले बेहोर्छ अध्ययन खर्च
शिक्षाखबर डेस्क
१५ भाद्र २०८३, सोमबार
no immg

मोरङ । मोरङको कानेपोखरी–२, दलेलीको मुसहर (ऋषिदेव) बस्तीकी २३ वर्षीय चन्द्रिका ऋषिदेव आफ्नो अति विपन्न समुदायमा स्नातक तह अध्ययन गर्ने एक्ली बुहारी बन्नुभएको छ। उहाँ हाल रमाइलो बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र सङ्कायमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ। विद्यालय पढ्दापढ्दै पाँच वर्षअघि विवाह भएपछि चन्द्रिकाको शिक्षा लिने इच्छा खोसिन लागेको थियो, तर उहाँका सासू श्रीदेवी र ससुरा धुनीरामले घरायसी काममा सघाएर क्याम्पस जान रोक्नुभएन। श्रीमान्को पनि भरपूर साथ पाएको र आफू नपढे पनि श्रीमान्ले पढ्न नरोकेको चन्द्रिका बताउनुहुन्छ। प्राथमिक तहमा आफ्नो समुदायका २५ जना साथीहरूसँगै पढ्न सुरु गरे तापनि आर्थिक रूपमा कमजोर पारिवारिक अवस्था र समुदायमा पढ्ने वातावरण नहुँदा कक्षा १० मा पुग्दा चन्द्रिका एक्ली विद्यार्थी हुनुभएको थियो। शिक्षा विकास मावि, कानेपोखरीका सहायक प्रधानाध्यापक सञ्जीव खड्काका अनुसार चन्द्रिका समुदायकै एक्ली नियमित विद्यार्थी थिइन् र उनले कक्षा १२ नियमित रूपमा उत्तीर्ण गरेकी हुन्। खड्काका अनुसार ऋषिदेव समुदायका विद्यार्थी पूर्वप्राथमिक र प्राथमिक तहमा सबैभन्दा बढी भर्ना हुने तर घरायसी काममा भविष्य देख्ने र शैक्षिक चेतनाको अभावका कारण माध्यमिक तहमा पुग्दा पढाइ छाड्ने समस्या व्याप्त छ।

सीमान्तकृत र विपन्न समुदायका बुहारी क्याम्पस पढ्न थाले भने उनीहरूको अध्ययन खर्च कानेपोखरी गाउँपालिकाले बेहोर्दै आएको छ। चन्द्रिकाको क्याम्पसको अध्ययन खर्च पनि पालिकाले नै बेहोर्छ। गाउँपालिकाका अध्यक्ष राजमती इङ्नामका अनुसार, बुहारीलाई क्याम्पस पढाउन सासूहरू पे्ररित हुन् भनेर अघिल्ला दुई वर्ष ‘सासूको इच्छा बुहारीलाई शिक्षा’ कार्यक्रम सञ्चालन गरिएको थियो, जुन हाल बन्द भए तापनि विपन्न बुहारीहरूलाई निःशुल्क उच्च शिक्षाको व्यवस्था मिलाइएको छ। सीमान्तकृत वर्गका विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्ने भए भने पालिकाले हरेक वर्ष छात्रवृत्तिका रूपमा विद्यार्थीलाई खर्चको अभाव हुन नदिने उहाँले जानकारी दिनुभयो। यद्यपि मोरङका पालिकामा ऋषिदेव समुदायका दलित महिला जनप्रतिनिधिको सङ्ख्या २४ रहे तापनि उनीहरूको शैक्षिक चेतनास्तर भने अझै माथि उठ्न नसकेको तथ्याङ्कले देखाउँछ।

प्रतिक्रिया
सम्बन्धित खबर