स्ताङ । महिलाहरूको पर्व तीजलाई लक्षित गरी मुस्ताङमा छिटो पाक्ने उच्च घनत्वको (High Density) स्याउ सोमबार (भदौ १५ गते) देखि टिप्न सुरु गरिएको छ। जिल्लाको प्रमुख कृषि उत्पादनका रूपमा रहेको उच्च घनत्व जातका गाला, किङरोड र गोल्डेन स्याउहरू गुणस्तर र आकारका हिसाबले परिपक्व भएपछि बजारमा पठाउनका लागि टिप्न थालिएको हो। काँचो स्याउ बजारमा जान रोक्न र गुणस्तरीय स्याउ मात्र बजारीकरण गर्नका लागि जिल्ला समन्वय समिति, पाँचवटै स्थानीय तह, शीतोष्ण बागवानी विकास केन्द्र (मार्फा), प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (स्याउ जोन) तथा स्थानीय कृषक समूहहरूको संयुक्त बैठकले स्वीकृत गरेको कार्यतालिका अनुसार स्याउ टिपाइ सुरु गरिएको कृषि तथा पशु विकास कार्यालय मुस्ताङकी निमित्त प्रमुख बबिता नेपालीले जानकारी दिनुभयो। कार्यतालिका अनुसार ढिलो पाक्ने मुस्ताङको स्थानीय (रैथाने) जातको स्याउ भने भदौ २२ गतेदेखि मात्र टिपेर बजारमा पठाइनेछ।
उपयुक्त समयमा टिपिएको मुस्ताङको स्याउको स्वाद र गुणस्तर उत्कृष्ट मानिने भएकाले जिल्लाका बगैँचाहरूमै व्यापारीहरू खरिदका लागि पुगिसकेका छन्। यस वर्ष अनुकूल मौसम, प्रभावकारी बगैँचा व्यवस्थापन र रोगकीराको प्रकोप कम रहेकाले स्याउ उत्पादन र कारोबारमा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ। गत वर्ष मुस्ताङमा ८ सय ३७ हेक्टर क्षेत्रफलमा लगाइएको स्थानीय स्याउ ६ हजार ६ सय ८४ मेट्रिक टन उत्पादन भई ७८ करोड ८९ लाख रुपियाँ र उच्च घनत्वको स्याउ ३१ करोड ३४ लाख रुपियाँ गरी कुल १ अर्ब १० करोडभन्दा बढीको कारोबार भएको थियो। पछिल्लो समय जलवायु परिवर्तनका कारण तल्लो मुस्ताङका साथै उपल्लो मुस्ताङका हिमाली क्षेत्रहरूमा समेत उच्च घनत्वको स्याउ खेती तीव्र रूपमा विस्तार भइरहेकाले यस वर्ष मुस्ताङी किसानहरूको आम्दानी अझै बढ्ने अपेक्षा गरिएको छ।






