काठमाडौँ । सरकारले नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने उच्च उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्धनका लागि एक उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको विशेष बैठकले नेपालमा चिकित्सा सेवा पर्यटनको दिगो विकास, विस्तार र अन्तर्राष्ट्रिय बजारीकरणका लागि कार्यदल गठन गरी शीघ्र काम अगाडि बढाउने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको उक्त बैठकमा सम्बन्धित मन्त्रालयका सचिवहरूका साथै निजी अस्पतालका सञ्चालक तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
बैठकमा नेपालमा सुलभ र गुणस्तरीय उपचार सेवा लिन आउने विदेशी बिरामीहरूका लागि चिकित्सा सेवा पर्यटनलाई व्यवस्थित र पारदर्शी बनाउने विषयमा गहन छलफल भएको छ। यसका लागि आवश्यक नियमनकारी कानुनी संरचना निर्माण गर्ने, अस्पतालहरूको गुणस्तर अभिवृद्धि र बिरामी सुरक्षाको राष्ट्रिय-अन्तर्राष्ट्रिय मापदण्ड तय गर्ने तथा विदेशी बिरामी र उनीहरूका कुरुवा (सहयोगी) का लागि प्रक्रियागत रूपमा सहज ‘मेडिकल भिसा’ को व्यवस्था गर्ने जस्ता नीतिगत विषयहरूमा छलफल केन्द्रित रहेको थियो।
नेपालमा चिकित्सा सेवा पर्यटनको विकासले मुलुकको विदेशी मुद्रा आर्जनमा उल्लेख्य योगदान पुर्याउनुका साथै नेपाली नागरिकहरू उपचारका लागि विदेश जानुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न र देशभित्रै उच्चस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा सुदृढ गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ। सरकारले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिकित्सा सेवा पर्यटनको भरपर्दो र उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखेर काम अघि बढाएको छ।






