एमाले र माओबादी बीच एकता भइ एक शक्तिशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी निर्माण भए पश्चात फरक फरक अस्तित्वमा रहेका दुइ बिद्यार्थी संगठनहरु अनेरास्ववियु र अखिल (क्रान्तिकारी) को एकता, शैक्षिक आन्दोलनको अबको कार्यदिशा लगाएतका बिषयमा क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष तिलकराज भण्डारीसंग शिक्षाखबरका उप-सम्पादक दिपक शर्माको संक्षिप्त कुराकानी ।
१. तपाईलाइ स्वागत छ शिक्षा खवर डट कम मा
धन्यावाद ! शिक्षा खवरले छोटो समयमा राम्रो गुड विल निर्माण गरेको छ । यसमा म ज्यादै खुशी छु ।
२. आजभोली के मा व्यस्त हुनुहुन्छ ?
नियमित संगठनात्मक कार्यक्रम र गतिविधिहरुमा दिनचर्या बितिरहेको छ । पार्टी एकताले गर्दा राजनैतिक छलफल र भेटघाटहरु बढेका छन ।
३. ने.क.पा. (माओवादी केन्द्र) र ने.क.पा.(एमाले) को एकता ले माओवादी समाप्त भयो भन्ने भनाई छ नि, तपाईको बुझाई के छ ?
यसलाई नकारात्मक शव्दावली प्रयोग गर्दा एमाले र माओवादी दुबै समाप्त भएको पनि भन्न सकिन्छ । राजनैतिक पूर्वाग्रहको कोणबाट हेर्दा दुईमध्ये एक समाप्त भएको देख्न सकिन्छ । तर वास्तविक रुपमा न एमाले समाप्त भएको हो, नत माओवादी समाप्त भएको हो । यो त नेपाली राजनीतीको वर्तमान आवश्यक्ता र नेपाली वामपनथी जनताहरुको भावानालाई सम्वोधन गरेर टुटफूट र विभाजनको नेपाली कम्युनिष्ट आन्दोलनलाई एकता र धु्रवीकरणको नयाँ धारमा हिडाउने अभियानको थालनी हो । तपाई को प्रश्नमा जस्तै विभिन्न नकारात्मक टिप्पनी गर्नेहरु एकता विरोधी तथा एकताबाट आत्तिएका शक्तिहरुको प्रतिक्रिया मात्रै । यद्यपी यो एकतालाई सार्थक एकताको रुपमा विकास गर्न असाधारण चुनौतिहरु विद्यमान नै छन् ।
४.तर यी दुई पार्टीको पृष्ठभूमी, सिद्धान्त र राजनैतिक कार्यदिशामा त आकासपतालको भिन्नता छ कसरी सार्थक एकता सम्भव छ ?
हो हाम्रो विगतलाई हेर्ने हो भने एकअर्काप्रतिको राजनैतिक विश्लेषण, विचार र सिद्धान्तप्रतिको बुझाई र कार्यादिशामा निकै भिन्नता देखिन्छ । यसको अर्थ समानता छैन भन्ने होईन । सबैभन्दा पहिले त हामी कम्युनिष्ट हांै । माक्सवादी हौं, लेनिनवादी हौं र माओविचार÷माओवादी हौं । सबैभन्दा महत्वपूर्ण समानता यहि हो । यसलाई बुझ्ने, ब्याख्या गर्ने र प्रयोग गर्ने मामलामा हाम्रा केही भिन्नताहरु थिए । यी भिन्नताहरुलाई पनि नेपाली राजनैतिक परिवर्तनको प्रक्रियाले खारेज गरिदिएको छ । नेपालको जनवादी÷ पूँजीवादी क्रान्तिको चरणसम्म आईपुग्दा माओवादी ले नेतृत्व गरेको दशवर्षे ससस्त्र जनयुद्ध र एमाले ले नेतृत्व गरेको शान्तिपूर्ण जनआन्दोलनको समायोजनबाट नै मूलभूत रुपमा जनवादी÷पूँजीवादी क्रान्ति सम्पन्न भएको हो भन्ने कुरामा दुबै पार्टी र नेतृत्व सहमत भएका छन र पार्टी एकताको आधारविन्दु पनि यहि हो । अव राजनैतिक कार्यदिशाको सन्दर्भमा हेर्दा जनवादी तथा पूँजीवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै आर्थिक समृद्धि, समाजिक न्याय, शुसासन र स्थायित्वसहितको समाजवाद निर्माण गर्ने अभियानमा दुबै पार्टी र नेतृत्व एकमत भएपछि मात्रै व्यवहारिक रुपमा पार्टी एकता प्रक्रिया अगाडी बढेको छ । हाम्रो कार्यशैली, संगठनात्मक संरचना, ईतिहासप्रतिको बुझाई तथा फरक स्कुलिङ बाट अभिव्यक्त हुने महत्वाकांक्षा, आडम्वर र अनुभववादी कार्यशैली टक्राउने र एकता प्रक्रियालाई भाड्ने चुनौति पनि जिवितै छ । त्यसकोलागि व्यवस्थित बैचारिक बहस, व्यवस्थित संगठनात्मक समायोजन र एक अर्काप्रतिको सम्मान तथा सहअस्तित्व ले हामीबीचमा देखा पर्ने भिन्नताहरुलाई मेटाउदै लैजान्छ र सार्थक एकतालई लाई सहयोग पु¥याउदै जान्छ । यसमा मूख्यतः यूवाविद्यार्थीहरुको पहलकदमी जरुरी छ ।
५. पार्टी एकतासंगै अखिल (क्रान्तिकारी) र अनेरास्ववियुको बिचमा पनि एकता हुने होला, कस्तो तयारी भइरहेको छ ?
स्वभाविक रुपमा मातृ पार्टीहरुको एकतासंगै सबै जनवर्गीय संगठनहरुको एकता प्रक्रिया अगाडी बढ्छ नै । पार्टीले जनवर्गीय संगठनहरुको एकताको निम्ति निश्चित कार्यदल र मापदण्ड निर्माण गरि एकता प्रक्रियालाई बगाडी बढाउछ र संगठनका सबै तह र संरचनाहरुलाई एकता प्रक्रियामा लैजान्छ । संगठनको नामाकरण, नेतृत्व र कार्यविभाजन सबै सहमतिमा र सम्मानजनक नै हुन्छ ।
६. अव शैक्षिक आन्दोलनको कार्यदिशा के हुन्छ ?
राजनैतिक कार्यदिशाले शैक्षिक कार्यदिशाको निर्धारण गर्दछ । अवको शैक्षिक आन्दोलनको कार्यदिशाले जनवादी शिक्षा प्राप्तिको आन्दोलनबाट समाजवादी शिक्षा प्राप्तिको आन्दोलनको चरणमा प्रवेश गरेको छ । समाजवादी शैक्षिक आन्दोलनको पहिलो चरणमा हामीले जनवादी शिक्षा प्राप्तिको चरणमा प्राप्त शैक्षिक हक तथा अधिकारको कार्यान्वयनका लागि आन्दोलनलाई केन्द्रित गरिनुपर्दछ । दोश्रो चरणमा नेपाली सापेक्षताको समाजवादी राज्यव्यवस्था निर्माणका लागि समाजवादी शिक्षा प्रणाली स्थापना गर्ने व्यवस्थित कार्ययोजना बनाउनु पर्दछ । नेपाली सापेक्षताको समाजवादी शिक्षा प्रणालीको सन्दर्भमा हामीले यी आधारभुत विषयमा व्यवस्थित छलफल गरिनुपर्दछ । सर्वप्रथम नेपालको प्राकृतिक साधन श्रोतको विस्तृत अनुसनधान र सर्वेक्षण तथा सम्भाव्यता अध्ययन गरिनु पर्दछ । त्यसपछि नेपालको उत्पादित जनशक्तिको विस्तृत सर्वेक्षण एवं प्रक्षेपण गरी नेपालको प्राकृतिक साधन –श्रोतको सदुपयोग र प्रशोधन गर्न सक्ने आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यलाई मूख्य प्राथमिकतामा राख्दै आजको खुल्ला बजारमा प्रतिस्प्रधा गर्न सक्ने दक्ष तथा रोजगारमुलक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्दछ ।
७. जनवादी शिक्षा प्राप्तिको चरणमा तपाईहरुले के के शैक्षिक हकहरु प्राप्त गर्नुभयो ? भन्दा के भन्नु हुन्छ ?
हेर्नुहोस जनवादी शिक्षा प्राप्तिको आन्दोलनको चरणबाट हामीले धेरै महत्वपूर्ण शैक्षिक हकहरु प्राप्त गरेका छौं । तपाईहामीले बुझ्ने गरी भन्ने हो भने यो निकै लामो बन्न जान्छ ।
नेपालको संविधान २०७२ मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३१. शिक्षासम्वन्धि हक मा
(१) प्रत्येक नागरिकलाई आधारभुत शिक्षामा पहुचको हक हुनेछ ।
(२) प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यामिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ ।
(३) अपांगता भएका र आर्थिक रुपले विपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक हुनेछ ।
(४) दृष्टिविहिन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाई सम्वन्धि अपांगता भएका नागरिकलाई सांकेतिक भाषाको माध्यामबाट कानून बमोजिम निःशुल्क शिक्षा पाउने हक हुनेछ ।
(५) नेपालमा बसोवास गर्ने प्रत्येक समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ ।
जनवादी शिक्षा प्राप्तिकोलागि संचालित शैक्षिक आन्दोलनको पहिलो चरणमा शिक्षालाई मौलिक हकको रुपमा स्थापित गर्न हामी सफल भएका छौं । हजारौं नेता कार्यकर्ताहरुको त्याग समर्पण र वलिदानबाट प्राप्त यी शैक्षिक हकहरुको कार्यान्वयन गर्नु शैक्षिक आन्दोलनको पहिलो कार्यभार बन्न गएको छ।
संविधानको ३८ (५) मा महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ । त्यसैगरी धारा ४० (२) दलित विद्यार्थीलाई प्राथमिक देखि उच्च शिक्षासम्म कानून बमोजिम छात्रवृत्ति सहित निःशुल्क शिक्षाको व्यवस्था गरिनेछ । प्राविधिक र व्यवसायीक उच्च शिक्षामा दलितकालागि कानून बमोजिम विशेष व्यवस्था गरिनेछ । संविधानमा उल्लेखित यी प्रावधानहरुले शिक्षामा पनि समावेशी प्रतिनिधित्वमार्फत उत्पिडित वर्ग र समुदायहरुका विद्यार्थीहरुलाई शिक्षाको मूलधारमा ल्याउने प्रयास गरेको देखिन्छ । यो शैक्षिक आन्दोलनको अर्काे महत्वपूर्ण उपलब्धी हो । राज्यको संघीय पुनर्संरचना संगसंगै शैक्षिक पुनर्संरचनामार्फत शैक्षिक अधिकार र संरचनाहरु जनताको घरदैलो नजिक पुगेका छन् । जसले गर्दा स्थानीय तह र प्रदेशको सापेक्षतामा शैक्षिक नीति तथा पाठ्यक्रम निर्माण र गुणस्तर वृद्धि गर्ने सुनौलो अवसरको सृजना भएको छ । संविधानले संघीय सरकारको अधिकार सूची भित्र केन्द्रीय विश्वविद्यालय, केन्द्रीय स्तरका प्रज्ञा प्रतिष्ठान, विश्वविद्यालय मापदण्ड र नियमन, केन्द्रीय पुस्तकालय राखिएको छ भने प्रदेश सरकारको अधिकार सूची अन्तर्गत प्रदेश विश्वविद्यालय, उच्च शिक्षा, पुस्तकालय, संग्रहालय राखिएको छ । शैक्षिक अधिकार को दृष्टिकोणले पनि सबै भन्दा बलियो स्थानीय तह देखिएको छ । आधारभूत र माध्यामिक शिक्षा स्थानीय तहले हेर्ने व्यवस्था गरेको छ । यसरी हेर्दा संघीय शिक्षा प्रणालीको कार्यान्वयन गर्ने सबैभन्दा महत्वपूर्ण कार्यभारको रुपमा स्थानीय तहको कार्यभार बन्न गएको छ । तसर्थ शैक्षिक आन्दोलन महत्वपूर्ण क्षेत्रको रुपमा स्थानीय तह नै रुपानतरित भएको छ ।
समग्र राजनैतिक परिवर्तन संगै शैक्षिक प्रणाली, पाठ्क्रम, नीति तथा कार्यक्रम र शैक्षिक संरचनामा आधुनिक परिवर्तन भईरहेको छ । राजनैतिक परिवर्तत र शैक्षिक परिवर्तन संगै शैक्षिक आन्दोलनको कार्यादिशा र चरित्र पनि बदलिएकोछ ।
प्रचलित नेपालको संविधानको प्रस्थापनाले समाजवादी उन्मुख राज्यव्यवस्थाको परिकलपना गरेको छ । त्यसैगरी राज्यका नीति निर्देशक सिद्धान्त अन्तर्गत राज्यका नीतिहरुका संविधानले नै समाजवादी शिक्षाको परिकल्पना गरेको छ । धारा ५१ (ज) नागरिकका आधारभूत आवश्यकता सम्वन्धि नीति ः (१) शिक्षालाई बैज्ञानिक, प्राविधिक, व्यवसायिक, सीपमुलक, रोजगारमुलक एवं जनमुखी बनाउदै सक्षम, प्रतिस्प्रधि, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने । (२) शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षामा भएको नीजी क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामुलक बनाउने । (३) उच्च शिक्षालाई सहज, गुणस्तरीय र पहुच योग्य बनाई क्रमशः निःशुल्क बनाउदै लैजाने । लगायतका आदर्शपरक नीतिहरु राज्यले अवलम्वन गर्न खोजेको छ । यसरी हेर्दा हामी शैक्षिक आन्दोलनको गौरवपूर्ण विगतबाट महत्वपूर्ण उपलब्धीसहित चुनौतिपूर्ण उज्यालो भविश्यतर्फ मोडिएका छौं ।
८. तपाईहरुले भन्ने गरेको समाजवादमा पनि शिक्षा किन्नु पर्ने हुन्छ कि ?
हैन समाजवादी व्यवस्थामा शैक्षिक नीजीकरणको पूर्ण उन्मुलन नै गरिनुपर्दछ । अहिले आधारभूत शिक्षालाई संविधानले नै मौलिक हकभित्र राखेको छ । अव मौलिक हकको व्यापार गर्ने छुट कसैलाई हुदैन । क्रमशः विद्यालय तह र उच्च शिक्षाको पनि पूर्ण दायित्व राज्यले लिनुपर्दछ । अव शैक्षिक आन्दोलनको निशाना नै शैक्षिक नीजिकरण हो । राज्यव्यवस्था बलियो बनाउदै जाँदा ढिलो या चाँडो शैक्षिक नीजिकरणको अन्त्य भएरै छोड्छ । शिक्षामा लगानी गर्ने लगानी कर्ताहरुले विस्तारै शिक्षाबाट लगानीको सिफ्ट गर्दै जाने अभियानको थालनी हुन्छ । शिक्षामा निजीकरण विरुद्धको आन्दोलन क्रमशः शैक्षिक आन्दोलन मात्रै होईन सामाजिक आन्दोलन र कानूनी आन्दोलनको रुपमा विकास हुन्छ र सफलता प्राप्त गर्दछ ।
९. अव पनि विद्यार्थी आन्दोलन बन्द, हडताल, तालाबन्दी र तोडफोड गर्दै अगाडी बढ्छ कि ?
राजनैतिक र शैक्षिक कार्यदिशाको परिवर्तनसंगै शैक्षिक आन्दोलनको चरित्रमा पनि तात्वीक फेरबदल आएको छ । शैक्षिक आन्दोलनको चरित्रको हिसावले जनवादी क्रान्तिको चरणमा हामीले पुरानो राज्यव्यवस्था र शिक्षा प्रणालीका विरुद्ध ध्वंशात्मक चरित्रको आन्दोलन अवलम्वन ग¥यौं । तर आज आर्थिक समृद्धि, समाजिक न्याय र सुशासन सहितको समाजवाद निर्माण गर्ने जिम्मेवारी हाम्रो काँधमा आईपुगेको छ । तसर्थ शैक्षिक आन्दोलनको रचनात्मक र निर्माणात्मक चरित्र अवलम्बन गर्न जरुरी छ ।
१०. तपाईले यति लामो समय विद्यार्थी राजनीतिमा विताउदै अखिल(क्रान्तिकारी) को केन्द्रीय उपाध्यक्ष जस्तो महत्वपूर्ण भुमिकामा हुनुहुन्छ । पार्टी एकता पनि भयो, संक्षिप्त अनुभव र अवको राजनैतिक यात्राबारे बताई दिनुहोस् न ।
म, सामान्यतः राजनैतिप्रति समर्थन र संगठित पहिलेदेखिै हुँदै आएपनि २०५६ सालमा एसएलसी दिएर विद्यार्थी राजनीतिमा पूर्णकालिन रुपमा अगाडी बढ्ने वातावरण निर्माण भयो । व्यक्तिगत पढाई, लेखाई तथा सम्पूण नीजि स्वामित्व र सम्बन्धहरुलाई त्यागेर जनयुद्धमा सहभागी हुने त्यतिवेला सामान्य कुरा थिएन नै । जनयुद्धको केन्द्रीय आधारइलाकामा लामो समयसम्म संगठनात्मका भुमिका निर्वाह गर्ने अवसर प्राप्त भयो । भुमिगत राजनीतीक यात्रामा कठोर संकटकालको प्रतिरोधपूर्ण र ध्वाँसात्मक संघर्ष होस या त २०६० सालमा संगठनको केन्द्रीय योजनामा संचालित चुनवाङ जनसाक्षार अभियान जस्ता निर्माणात्मक आन्दोलनको नेतृत्वदायी भुमिका निर्वाह गर्दाको गौरवपूर्ण अनुभुति होस् यी मेरो राजनीतिका जीवनका अभिस्मरणीय अनुभुति हुन । त्यतिमात्रै होईन २०६२÷०६३ को जनआन्दोलनबाट शहरी आन्दोलनमा प्रवेश गर्दै जनयुद्धको केन्द्रीय आधारईलाका बाट क्रमशः आन्दोलनको मूख्य केन्द्र र संगठनको यो गौरवपूर्ण जिम्मेवारीसम्म पुग्नु एउटा निम्नवर्गीय र किसानवर्गीय विद्यार्थीको लागि गौरवकै विषय सम्झेको छु । आगामी राजनीतीक यात्रामा आन्दोलनले सिर्जना गरेका सबै अवसर र चुनौतिको समाना गर्दै समाजसेवामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने राजनीति कर्मीको कर्तव्य ठानेको छु ।
११. अन्त्यमा केही भन्नु छ कि ?
नेपालको कम्युनिष्ट आन्दोलन निकै चुनौतिपूर्ण र सम्भावनायुक्त मोडतिर प्रवेश गरेको छ । नेपालको सन्दर्भमा कम्युनिष्ट आन्दोलनको आवश्यकतालाई पूष्टी गर्ने सम्भवतः यो अन्तिम अवसर पनि हुनसक्छ । नेपाली मौलिकताको क्रान्तिलाई सम्पन्न गर्नेगरी माक्र्सवादको सिर्जनात्मक प्रयोग आजको आवश्यकता हो । यो अभियानमा शिक्षा खवर डटकम ले सकारात्मक योगदान पु¥याउने छ भन्ने अपेक्षा गर्दछु । धन्यवाद !