भक्तपुर – अस्थायी शिक्षक ब्यवस्थापनका लागि चैत २३ गते तोकिएको परीक्षाको सम्पूर्ण तयारी पुरा भएको शिक्षक सेवा आयोगले जनाएको छ । देशभरका पाँच जिल्लामा १ सय १६ परीक्षा केन्द्र तोकेकै दिन बुधबार पत्रकार सम्मेलन गरेर आयोगले परीक्षाको तयारी सकिएको जनाएको हो ।
कानूनले गरेको ब्यवस्था अनुसार आफूहरु परीक्षा तयारीमा जुटेको आयोगका अध्यक्ष ताना गौतमले बताए ।
‘आयोगले कानून अनुसार परीक्षा सञ्चालन गरेर कानूनको पालना गर्न खोजेको हो’, पत्रकार सम्मेलनमा गौतमले भने, ‘परीक्षा नै नभईदिए हुन्थ्यो भनेर आन्दोलनमा लाग्नेहरुलाई सम्बोधन गर्ने निकाय आयोग हैन, हामी त परीक्षा गर्ने निकाय हौं तोकेको मितिमा गर्न प्रतिवद्ध छौं ।’
अस्थायी शिक्षकको तोकिएको परीक्षा सम्पन्न गरे पछि खुल्ला विज्ञापन गर्न आयोगले पहल शुरु गरेको उनले बताए । यसका लागि आवश्यक कानून निर्माणमा शिक्षा मन्त्रालयले तदारुकता देखाउने आफूले अपेक्षा गरेको उनले बताए ।
परीक्षामा कूल २३ हजार २ सउ ८६ अस्थायी शिक्षक सहभागी हुने छन् । शिक्षा ऐनको आठौं संशोधनले गरेको ब्यवस्था अनुसार १५ हजार ६ सय ८९ जना शिक्षकले परीक्षा रोजेकोमा नवौं संशोधनले उक्त कोटा बढाए पछि थप ७ हजार ५ सय ९७ शिक्षकले परीक्षा दिन आवेदन गरेका थिए ।
कार्यक्रममा आयोगका प्रशासकीय अधिकृत डा. तुलसी थपलियाले परीक्षा, त्यसको पाठ्यक्रम र परीक्षा तयारीका बारेमा चर्चा गरेका थिए ।
जस अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिले परीक्षा सञ्चालनमा संयोजन गर्ने छ । हरेक केन्द्रमा एक एक गरी १ सय १६ केन्द्राध्यक्ष, २ सय ३२ सहायक केन्द्राध्यक्ष र १ हजार २ सय ८३ निरीक्षक परीक्षामा सम्मिलित हुने उनले बताए ।
शिक्षा ऐनको आठौं संशोधनमा भएको ब्यवस्था अनुसार पटक पटक मिति तोकेर पनि परीक्षा गर्न नसकेको भन्दै आयोगको आलोचना हुँदै आएको छ । यही विचमा ऐनको नवौं संशोधनले अस्थायी शिक्षक कोटाको दायरा फराकिलो बनाए पछि आयोगले परीक्षा मिति निर्धारण गरे पनि मिति नजिकिदैं गर्दा विद्यार्थी र अस्थायी शिक्षकको एक समूह आन्दोलनमा जुटेको छ ।
उनीहरुसँग वार्ता गर्न शिक्षा मन्त्रालयले समिति गठन गरेको छ ।