काठमाडाैं । २० बैशाख
फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा नरेन्द्र मोदी बढी लोकप्रिय रहेको एक अध्ययनले देखाएको छ ।
जेनेभामा बुधबार सार्वजनिक गरिएको एक सर्वेक्षणले यस्तो देखाएको समाचारमा जनाइएको छ । उक्त समाचारअनुसार ट्वीटरमा बढी सक्रिय भनिएका अमेरिकी राष्ट्रपति ट्रम्पभन्दा भारतीय प्रधानमन्त्री मोदीलाई बढी लोकप्रिय देखाएको छ ।
उक्त सर्वेक्षणका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पका ट्वीटरमा दुई करोड ३२ लाख जना फलोअर रहेका छन् । उनको तुलनामा भारतीय प्रधानमन्त्री मोदीका भने फेसबुकमा झण्डै दोब्बर अर्थात् चार करोड ३० लाख फलोअर रहेका छन् ।
यस अनुसन्धानका अनुसार क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन यसरी सामाजिक सञ्जालको प्रयोग गर्ने नेतामा पाँचौँ नम्बरमा परेका छन्।
फेसबुकमा उनका ९६ लाख फलोअर रहेका छन् । तर यस संख्यालाई भने क्याम्बोडियाका फेसबुक प्रयोगकर्ताकै कम्तीमा पनि आधा संख्या भनी आलोचना गरिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पको पेजमा २० करोड ४० लाख वटा प्रतिक्रिया, लाइक वा सेयर गरिएको पाइएको छ । तर त्यसको तुलनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अकाउन्टमा भने ११ करोड मात्र प्रतिक्रिया प्राप्त भएका छन् । उक्त अध्ययनले मोदीका बढी फलोअर तर अमेरिकी राष्ट्रपति ट्रम्प बढी अन्तरक्रियात्मक भनेर निष्कर्ष निकालेको छ ।
हरेक दिन अमेरिकी राष्ट्रपति ट्रम्पले अनुपातमा कम्तीमा पनि पाँच वटा पोष्ट गरेका छन् । तर पनि भारतीय प्रधानमन्त्रीले भने त्यसको आधामात्र गर्ने गरेका छन् ।
–एएफपी