काठमाडाैं । २५ बैशाख
सरकारले तीलगंगा आँखा प्रतिष्ठानलाई रु १० करोड अनुदान उपलब्ध गराएको छ ।
‘नेपाल आँखा कार्यक्रम’ले उत्पादन गर्दै आएको मोतियाबिन्दुको शल्यक्रियापछि राखिने इन्ट्रअकुलर लेन्स उत्पादन क्षमता अभिवृद्धि गर्न सो अनुदान उपलब्ध गराएको हो ।
उद्योग, वाणिज्य तथा अपूर्ति मन्त्री मातृकाप्रसाद यादवले मन्त्रालयमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्रमुख प्राडा सन्दुक रुइतलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गर्नुभयो । कार्यक्रममा मन्त्री यादवले मोतियाबिन्दुको शल्यक्रियापछि राखिने लेन्स उत्पादन गरी विश्वका विभिन्न मुलुकमा निर्यात गरी व्यापार घाटालाई कम गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।
सरकारका तर्फबाट प्रतिष्ठानलाई आवश्यक सहयोग गर्ने विश्वास दिलाउँदै उहाँले निर्यात प्रवद्र्धन गर्ने सबै प्रकारका उद्योगलाई सरकारले सहयोग गर्ने बताउनुभयो ।
मन्त्रालयका वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले लेन्स उत्पादन गरी निर्यात गर्ने क्षमता अभिवृद्धिका लागि अनुदान सहयोग गरेको बताउनुभयो ।
प्रतिष्ठानका प्रमुख रुइतले मन्त्रालयबाट प्राप्त सहयोगले प्रतिष्ठानको उत्पादन क्षमता अभिवृद्धि गर्ने र निर्यातलाई बढाउने विश्वास दिलाउँदै आगामी दिनमा सरकारबाट सहयोग प्राप्त भइरहने अपेक्षा गर्नुभयो ।
प्रतिष्ठानबाट उत्पादन भएका चार प्रकारका लेन्स चार लाखदेखि पाँच लाखसम्म उत्पादन हुँदै आएको छ । उत्पादित लेन्सलाई विश्वको ३५ देशमा निर्यात गर्दै आएको छ भने सबैभन्दा बढी चीन, थाइल्याण्ड र पाकिस्तानबाट माग हुने गरेको छ ।