सकसमा विद्यार्थी राजनीति
शिक्षाखबर डेस्क
८ माघ २०७५, मंगलवार
no immg

अब कस्तो नेविसंघ बनाउने ? दास उत्पादनको कारखाना बनाइरहने कि साँच्चै नेविसंघलाई नेता उत्पादनको कारखाना बनाउने परजीवीहरूको उत्पादन गरिरहने कि स्वावलम्बी नेता–कार्यकर्ता जन्माउने ? यी सवालको जवाफ नखोजी अब नेविसंघ अघि बढ्न सक्दैन। केही नेताको वरिपरि घुमिरहने गनेसहरूलाई पद दिन मात्र महाधिवेशन गर्ने हो भने त्यस्तो नेविसंघ रहनु र नरहनुको के अर्थ ? यी यक्ष सवालमा गम्भीर चिन्तन जरुरी छ।

आज समग्रतामा विद्यार्थी संगठनहरू बद्नाम छन्। आर्थिक अपारदर्शिता, चन्दा आतंक, अराजकता उनीहरूको पहिचान बनेको छ। यसलाई बदल्नैपर्छ। मध्यम वर्गबाट आएका विद्यार्थी नेताहरू मासिक चारपाँचपटक हवाई यात्रा गरेर देश दौडाहा गरिरहेका छन्। आम्दानीको कुनै स्रोत नभए पनि विलासी जीवनशैली बाँचिरहेका छन्। त्यसको स्रोत के हो प्रस्ट छैन। यसले नेपाली समाजलाई नराम्ररी झस्काएको छ। भ्रष्टाचारले थला परेको देशमा राजनीतिको सुरुवाती चरणमै भोलिको देशका नेता ठानिने आजका युवा विद्यार्थी भ्रष्टाचारको अभ्यासमा अभ्यस्त बन्नु विडम्बनापूर्ण छ। हिजो प्रजातन्त्रका लागि त्याग, जेलनेल बसेर आएको नेतृत्व त भ्रष्टाचारको दलदलमा फस्दा देशको दुर्गति हुन पुग्यो। खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले र पछिल्लो उदाहरण विद्यार्थी संगठन हाँकेर आएका अहिलेका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसमेत भ्रष्टाचारमा मुछिए। आज कलेज, स्कुलमै भ्रष्टाचार र अनियमिततामा अभ्यस्त बन्दै गरेको विद्यार्थी नेता देशकै नेतृत्वमा पुग्यो भने देशको हालत के होला ?

‘जे छ, ठीकठाक छ’ भन्ने शैलीबाट अगाडि बढ्ने हो भने नेविसंघ रहनु र नरहनुको कुनै औचित्य छैन।

देशको चारपटक नेतृत्व गरिसकेका शेरबहादुर देउवा कुनै बेला नेविसंघकै अध्यक्ष थिए। विमलेन्द्र निधि, रामशरण महत, बलबहादुर केसी हुँदै पछिल्लो पुस्तामा विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, प्रदिप पौडेल विद्यार्थी आन्दोलनबाट उदाएर पार्टी राजनीति हाँकिरहेका छन्। उनीहरूलाई हेरिरहेको एउटा तप्का आजको विद्यार्थी राजनीतिमा लाग्नेलाई भोलिका शेरबहादुर, धनराज गुरुङ, चन्द्र भण्डारी सोचेर लगानी गरिरहेका छन्। आजका विद्यार्थी नेताहरूको शानसौकतको पछि नखुलेको स्रोतको स्रोत त्यस्तै लगानी हो। त्यस्तो लगानी गर्नेहरूमा व्यापारी, कालोबजारी, शैक्षिक माफिया, सुरक्षा निकाय र सरकारी निकायका अधिकारीसमेत छन्। उनीहरूको एउटै स्वार्थ छ– आफ्ना हितमा ती विद्यार्थी नेतालाई सकेसम्म आज र नसके भोलि उपयोग गर्न सकियोस्। आज चित्रमा सामान्य देखिए पनि यसरी उत्पादन भएको नेतृत्व भोलि देश र समाजका लागि घातक हुन सक्छ। यसतर्फ पनि समाजमा खुला बहसको आवश्यकता छ।

आज पनि लाखौं बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित छन्। हातमा सर्टिफिकेट लिएर रोजगारका लागि रुमलिइरहेको ठूलो तप्का निराश छ। शिक्षा सामान्य जनताको पहुँचबाट टाढा पुग्दैछ। चाहेर पनि तल्लो र मध्यम वर्गले आफ्ना सन्तानलाई राम्रो शिक्षा दिन नसक्ने अवस्था छ। शिक्षामा विभेद छ। हुनेखानेले लिने एउटा शिक्षा र हुँदा खानेले लिने अर्को खाले शिक्षा छ। शिक्षामा भएको विभेदले समाजमा दुईखाले वर्ग जन्माइरहेको छ। नेपाल विद्यार्थी संघ र यसको मातृ पार्टी नेपाली कांग्रेसले समाजमा दुईखाले वर्ग उत्पादनको पक्षपोषण गर्दैन। समानताको कुरा गर्छ। कांग्रेस नेतृत्वको सरकारले ०१६ सालमा नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको स्थापना गर्‍यो। आज विश्वविद्यालयको अवस्था लथालिंग छ। निजी शैक्षिक संस्थाका नाममा ब्रह्मलुट छ। यी विषय विद्यार्थी संगठनको मूल मुद्दा बन्नुपर्ने हो। तर विद्यार्थी संगठन कामकुरा एकातिर, कुम्लो बोकी ठिमीतिरको यात्रामा छन्। यसरी विद्यालय र विश्वविद्यालयले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने सिर्जनशील र योग्य विद्यार्थी उत्पादन कसरी गर्न सक्छ ? विद्यार्थी संगठनको हस्तक्षेपकारी र दबाबमूलक नेतृत्वदायी भूमिका हुन नसक्नुले तीनको औचित्यमाथि नै प्रश्न खडा गरेको छ। सारमा भन्नुपर्दा नेपालका विद्यार्थी संगठन र समग्र विद्यार्थी आन्दोलन नै प्रश्नहरूको चाङमा छ। आफ्नै अस्तित्व रक्षाको संघर्षपूर्ण अवस्थामा छ। यसबाट पार पाउनेभन्दा आफ्नै कार्यशैली, चिन्तन र व्यवहारले खडा गरेका प्रश्नहरूको चाङले थिचिएर समाप्त हुने खतरा भने उत्तिकै छ।

मातृ पार्टीले आह्वान गर्दा ढुंगा हान्ने, टायर बाल्ने प्रयोजनका लागि विद्यार्थी संगठन जन्मिएका थिएनन्। हिजोको विशेष परिस्थितिमा ती कुरा गर्दा ठिकै मानिए पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत भइसकेको बेलामा त्यही कार्य गर्नु अस्वभनीय देखिन्छ। पार्टीले खटाउँदा सडकमा ताण्डव देखाउने, विरोधीमाथि जाइलाग्ने वा उछितो काढ्ने काममा मात्र व्यस्त रहने र आफ्ना वर्गीय मुद्दामा आँखा चिम्लिने हो भने विद्यार्थी संगठन विघटन गरिदिए हुन्छ। नेपाल विद्यार्थी संघले पनि आफैंमाथि निर्मम समीक्षा गर्नुपर्छ। अझै पनि नसिक्ने र नसच्चिकन ‘जे छ, ठीकठाक छ’ भन्ने शैलीबाट अगाडि बढ्ने हो भने नेविसंघ रहनु र नरहनुको कुनै औचित्य छैन।

प्रतिक्रिया