छारे रोग अथवा (Epilepsy) भनेको के हो ? र नियन्त्रणका उपायहरु
शिक्षाखबर डेस्क
१६ माघ २०७५, बुधबार
no immg

मस्तिष्कका विभिन्न भागहरु विद्युतीय तरंगका माध्यमबाट एक अर्कासंग सम्पर्क गर्दछन् । कहिलेकाहीँ यस्ता तरङ्गहरु एकदमै धेरै उत्पन्न हुन सक्दछ र फलस्वरुप शरीर काम्न थाल्छ । यो कम्पनलाई छारे रोग वा मिर्गी वा दौरा पर्नु भन्ने गरिन्छ । सामान्यतः यस्ता कम्पन २–३ मिनेटसम्म हुन सक्छ र त्यस पछि शरीर निकै कमजो र थकित हुन्छ । छारे रोगमा शरीर काम्ने तरिका याद गर्न निकै महत्वपूर्ण हुन्छ । यहि तरिकालाई राम्ररी डाक्टरलाई भनेमा उचित उपचार गर्न मद्दत पुग्दछ ।
के कस्ता कुराहरुले छारे रोगलाई निम्त्याउछ ?
ठ्याक्कै यहि कुराले नै छारे रोग हुन्छ भन्न सकिन्न । तर, निम्नलिखित अवस्था भए छारे रोगको दौरा हुन सक्छ ।
– ज्वोरो वा अन्य बिरामी अवस्था
– खानामा पोषणको कमी भएमा
– आँखा खाने झिलिली बत्तीहरु
– थकान भएमा
– अध्याँरोमा टीभी हेर्दा
– झगडा वा दुर्घटना
– निन्द्राको कमी भएमा
– महिलाहरुमा महिनावारी भएको अवस्थामा
छारे रोगको नियन्त्रण कसरी गर्ने ?
छारे रोगको सबैभन्दा उत्कृष्ट नियन्त्रण उपाय भनेको नियमित औषधी नै हो । अहिलेसम्म २० वटा भन्दा बढी औषधीहरु विश्व बजारमा उपलब्ध छन् । डाक्टरले छारे रोगमा शरीर काम्ने तरिका र औषधीको प्राकृतिको आधारमा औषधी निर्धारण गदछन् । त्यसैले बिरामी पिच्छे औषधी फरक पनि हुन सक्छ । नियमित औषधी सेवन नै छारे रोगको सबैभन्दा उपयुक्त र राम्रो तरका मानिन्छ । औषधीको सेवन नियमित रुपमा होस् भनेर यी तरिकाहरु अपनाउन सकिन्छ ।
– औषधी सजिलै देख्न सकिने ठाँउमा राख्ने (जस्तै ः टिभी माथि, सुत्ने खाटको नजिक, आदि)
– ठिक समय अवधि खान पर्ने भएकोले गर्दा घडीमा अलार्म वा घन्टी राख्न सकिन्छ ।
– दिनहू बेलुका औषधीको चक्की गन्ने
– औषधी सकिन २–३ दिन अगाडी नै औषधी पसलबाट किन्ने

छारे रोग प्रति रहेका केहि गलत धारणाहरु
गलत धारणाहरु
– छारे रोगको बेला मान्छेले आफ्नै जिब्रो निल्छ ।
– बिरामीको शरीरमा भूत–प्रेत लागर छारे रोग हन्छ ।
– शरीरमा कम्पन भएको बेला बिरामीलाई च्याप्प समातेर वा बानेर राख्नु पर्छ ।
– छारे रोग भएको बेला अरु मान्छेले केत्रिम तरिकाले (आफ्नो मुख बाट बिरामीको मुखमा) सांस फुक्नु पर्छ ।
– छारे रोगका बिरामीहरु मानिसक रुपले कमजोर हुन्छन् ।
– बाहिरी रुप वा अनुहार हेरेर छारे रोगको बिरामी ठम्याउन सकिन्छ ।
– आमा–बुवालाई छारे रोग छ भने बच्चाहरुमा पनि देखिन्छ ।
छारे रोग सम्बन्धि वास्तविकता
– आफ्नो जिब्रो कहिल्यै निल्न सकिदैन त्यसैले मुखमा केहि कुरा राखेर जिब्रोलाई थिच्दा दाँत, गिजा र बँगारामा घाउ हुन सक्छ ।
– छारे रोग भनेको पूर्ण रुपले मस्तिष्क सम्बन्धि गडबडी हुने रोग हो ।
– शरीर काम्दा बिरामीलाई कहिल्यै समात्नु हुदैन । बरु वरिपरि भएका तखा र धारिला सामानहरुलाई हटाउनु पर्छ ।
– कृत्रिम तरिकाले श्वास प्रश्वास तब गर्नु पर्छ जुन बेला बिरामीको शरीर काम्न छोडे पनि श्वास फेर्न चाहि सक्दैन ।
– छारे रोगका बिरामीहरु पनि सामान्य मानिसहरु जस्तै हुन्छन् ।
– कुनै पनि बाह्य स्वरुप हेरेर छारे रोगको बिरामी चिन्न सकिदैन ।
– घर–परिवारमा कसैलाई छारे रोग नभए पनि बच्चाहरुमा देख्न सकिन्छ । तर कहिले काही आमा–बुवालाई छारे रोग भए बच्चालाई पनि हुन सक्छ तर नहुने संभावना बढी हुन्छ ।
– सामान्यतः छारे रोगको दौरा पर्दा बिरामीहरु बेहोस हन्छन् त्यसैले कसैलाई चोट पु¥याउन सक्दैनन् ।

डा. तनवीर अहमद खान
वरिष्ठ मानसिक रोग विशेषज्ञ
तथा असिस्टेन्ट प्रोफेसर
नेपालगंज मेडिकल कलेज, नर्सिङ्ग होम नेपालगंज
तथा अमान मेडिकल हल, सुर्खेत रोड औद्योगिक क्षेत्रको समुन्ने नेपालगंज

प्रतिक्रिया