भेरी अस्पताल नेपालगंज बाँकेको इन्डोर भवन निर्माण कार्यको शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले शिलान्यास गर्नुभएको छ । एक समारोहका बीच मंगलबार झन्डै ५० करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको इन्डोर भवनको शिलान्यास गर्नुभएको हो ।
६९ लाख ३१ हजार ६ सय ५५ रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको ४ परिवार नर्सिङ क्वार्टरको समुदघाटन समेत गर्नुभएका मन्त्री राईले आफुले निर्वाचनका बेला गरेका प्रतिबद्धता र नेपालगंजबासी सबैको सहयोगले यहाँ सम्म पुग्न सफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “काठमाडौं पछि अहिले सम्मकै सबैभन्दा ठुलो अत्याधुनिक र सेवा सुविधाले सम्पन्न अस्पताल भवनको शिलान्यास गरेका छौं, एसी सुविधा भएको प्राइभेट अस्पताल मात्र हुन्छ भन्ने सोचको अन्त्य हुन्छ, हाम्रा विपन्न गरिब, आम असाहय नागरिकले पनि अत्याधुनिक सेवा सुविधा सम्पन्न वातावरण अनुकुलित अस्पताल भित्र विगतका भेरी, कर्णाली र राप्ती अञ्चल मात्र नभई देशैभरीका नागरिकले चाहेको बेला सेवा पाउने छन, काठमाडौं पछि सरकारी क्षेत्रको सबैभन्दा ठुलो अस्पतालको भवन यही शिलान्यास भएको छ, पाँच नम्बर प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश भएसँगै यस अस्पतालको औचीत्य झन बढेर जानेछ भन्ने विश्वास मैले लिएको छु ।”
मन्त्री राईले अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गर्न र डाक्टर, नर्स लगायतका सबै कर्मचारीलाई खुसी बनाउने गरी काम भईरहेको पनि जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अस्पतालमा सेवा लिने विरामी तथा कुरुवा आफन्तहरुले खुला आकाश मुनि अहिले बस्नु पर्ने बाध्यता छ, यसलाई पनि सुविधा सम्पन्न बनाउने छौं, भेरी अस्पताललाई संघिय अस्पतालका रुपमा केन्द्र सरकारको मातहतमा लग्ने निर्णाय भइसकेको छ, ५ सय शैया भन्दा बढीको बिशेषज्ञ सेवा दिने योजना छ, यो पुरानो भवनलाई भत्काएर तल ओपीडी, माथी मेडिकल ट्रेनिङ्ग एजुकेसन सेन्टर पनि निर्माण हुन्छ भन्ने म यहाँ जानकारी गराउन चाहान्छु, तपाईहरु ढुक्क हुनुहोस, सबै कार्यक्रमहरु पाइप लाइनमा छन, यस अस्पतालबाट अब काठमाडौं जस्तै सेवा सुविधा पाईने छ ।”
संघ र प्रदेशका सांसद, नेपालगंज उपमहानगरपालिका सहित विभिन्न स्थानिय तहका जनप्रतिनिधि, राजनितिक दल, स्वास्थ्यकर्मी, चिकीत्सक, समाजसेवी बुद्धिजिवी वर्ग उपस्थित कार्यक्रममा संघिय आयोजना कार्यन्वयन इकाई नेपालगंजका प्रमुख सुनील कुमार ठाकुरले शहरी विकास मन्त्रि ज्यूको पहल र मन्त्रालय, इन्जिनियर, अस्पताल प्रशासन लगायत सबैको सक्रियतामा फास्ट ट्रयाकबाट पाँच तले इन्डोर भवन निर्माणको कार्य शुरु गर्न सफल भएको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “यो अत्याधुनिक, भुकम्प प्रतिरोधात्मक, वातावरण अनुकुलित, लिप्ट सहितको अपागंता मैत्री भवन हुनेछ, यो भवनको कुल ठेक्का रकम ३२ करोड ३१ लाख ३ हजार ७ सय ९३ रुपैयाँ भ्याट बाहेक रहेको छ, र कन्टेलेन्सी समेत गरेर झन्डै ५० करोड रुपैयाँ बराबर पुग्नेछ, यसको ठेक्का सम्झौता चाडैं हुदै छ, साढे २ बर्ष यसको शुरुको निर्माण अवधि रहनेछ, त्यो अवधिमा नै यो भवन निर्माण हुने म प्रतिबद्धता ब्यक्त गर्दछु, नयाँ बन्ने भवनमा २ सय ३५ बेड रहने छ ।
यो भवनको सम्पुर्ण डिजाइन शहरी विकास विभागको स्वास्थ्य भवनको टिमले गरेको हो ।” यस्तै उहाँले नेपालगंज उपमहानगरपालिका र डुडुवा गाउँपालिका भित्रका ५० वटा सडक २ अरब रुपैयाँका आयोजना निर्माणको काम अगाडि बढाउन पनि चाडै सफल भएको बताउनुभयो ।
१ सय ५० शैया रहेको यस अस्पतालको भवन निर्माण सम्बन्धी बिषयलाई स्वास्थ्य मन्त्रालयले २०७५ असोज १७ गते अर्थ मन्त्रालयलाई पत्राचार गरी सहमति माग गरेको थियो ।
त्यसपछि २०७५ कार्तिक ८ गते बसेको मन्त्रीस्तरीय बैठकको निर्णयबाट इन्डोर भवन निर्माण गर्न अर्थ मन्त्रालयले सहमति प्रदान गरेको हो । सुविधा सम्पन्न नयाँ भवन बन्ने भएपछि अहिले सबैले खुसी ब्यक्त गरेका छन ।
-साभार : रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्ज नेपालगंज ।