२७ साउन, एजेन्सी। अफगानिस्तानका चार सयभन्दा बढी निजी विद्यालय बन्द भएको दाबी गरिएको छ ।
स्थानीय सञ्चार माध्यमले सम्प्रेषण गरेको समाचारअनुसार आर्थिक, राजनीतिकलगायतका विविध कारणले ती विद्यालय बन्द भएका हुन् ।
निजी विद्यालयको संगठनका नेता जाविहुल्लाह फुक्वानीले गरिबीका कारण अविभावकले आफ्ना बालबालिकालाई निजी विद्यालयमा भर्ना गर्न छाडेको जानकारी दिए ।
त्यसैगरी सरकारको निर्णयअनुसार कक्षा छदेखि १२ सम्म बालिकालाई विद्यालय जान निषेध गरिएकाले पनि विद्यार्थीहरूको सङ्ख्या घटेको उनको भनाइ छ ।
तालिबान सरकारका प्रमुख प्रवक्ता जाविहुल्लाह मुजाहिदले पनि धार्मिक कारणले छात्रालाई विद्यालय पढाउन नसकिएको स्पष्ट पारे ।
बालिकाहरूलाई विद्यालय जान दिनुपर्ने दबाव अधिकारवादी, लोकतन्त्रवादी र विभिन्न अन्तरराष्ट्रिय निकायबाट आइरहेपनि तालिबान सरकारले अहिलेसम्म बेवास्ता गरिरहेको छ ।
मुस्लिम कानुन र सरियाका कारणले बालिकाहरूलाई विद्यालय जान निषेध गरिएको निर्णय फिर्ता लिन नसकिएको उनको भनाइ छ ।
अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि बालिकाहरूलाई विद्यालय जान निषेध गरिएको छ भने महिलालाई रोजगारी गर्न तथा घर बाहिर एक्लै हिड्न नपाइने व्यवस्था गरिएको छ । यस व्यवस्थाका विरुद्धमा सर्वत्र आवाज उठेपनि तालिवान प्रशासनले भने अस्विकार गर्दै आएको छ ।