१८ भदाै, एजेन्सी। अष्ट्रेलियामा विदेशी विद्यार्थीहरूले अध्ययन सकेपछि काम गर्न पाउने अवधि (पोस्ट स्डटी वर्क) बढ्ने भएको छ। शिक्षामन्त्री जासन क्लेरले विज्ञप्ती जारी गर्दै अन्ततराष्ट्रिय विद्यार्थीहरूले अध्ययन सकेपछि काम गर्न पाउने अवधि बढाउने जानकारी दिएका हुन्।
उनले जारी गरेको विज्ञप्तीमा अष्ट्रेलियाको श्रमिक अभावलाई सम्बोधन गर्ने उद्देश्यले अन्ततराष्ट्रिय विद्यार्थीहरूलाई अध्ययन सकेपछि काम गर्ने अवधि बढाउन उल्लेख छ।
अब, ब्याचलर अध्ययन पुरा गरेका विद्यार्थीहरूले ४ वर्ष, मास्टर्स गरेकाले ५ वर्ष र पिएचडी गरेका विद्यार्थीहरूले अध्ययन सकेपछि ६ वर्ष काम गर्न पाउने भएका छन्। यसभन्दा अघि ब्याचलर सकेकाले २ वर्ष, मास्टर्स सकेकाले ३ वर्ष र पिएचडी सकेकाले ४ वर्ष काम गर्न पाइरहेका थिए।
यस विषयको विकास र अन्य सम्बन्धित विषयमा गृह र शिक्षामन्त्रीलाई सल्लाह दिन कार्यदल गठन गरिने जानकारी दिइएको छ।
कार्यदलका सदस्यहरूमा अन्तर्राष्ट्रिय शिक्षा परिषद्, राष्ट्रिय टेरिटोरी शिक्षा संघ, अष्ट्रेलियका विश्वविद्यालयहरू र गृह मामिला तथा शिक्षा विभागका प्रतिनिधिहरू समावेश हुनेछन्। उक्त कार्यदलले अक्टोबर २८ सम्म प्रतिवेदन तयार पार्ने जानकारी दिइएको छ।
सरकारले आगामी नौ महिनामा भिसा प्रशोधनको कार्यमा सहयोग गर्न ५०० जना कर्मचारी भर्ना गर्ने बताएको छ। यसबाट अन्तर्राष्ट्रिय शिक्षालाई ३ करोड ६० लाख डलरभन्दा बढी फाइदा हुने बताइएको छ।