३ असोज, भक्तपुर। भक्तपुर नगरपालिकाले एक सय २० जना विद्यार्थीलाई करिब रु ६१ लाख बराबरको छात्रवृत्ति उपलब्ध गराएको छ । उपप्रमुख रजनी जोशीले छनोट भएका विद्यार्थीलाई छात्रवृत्ति उलब्ध गराएको बताए ।
यस वर्ष भक्तपुर नगरपालिकाले व्यवस्थापनमा ६३, विज्ञानमा ३८, मानविकीमा नौ र शिक्षा विषयमा ६ जना गरी एक सय २० जनालाई छात्रवृत्ति प्रदान गरेको हो । छात्रवृत्ति पाउने विद्यार्थीहरु ख्वप मावि, बागिश्वरी मावि, वासु मावि र आदर्श आजाद कलेजका छन् ।
संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि २०७४ को प्रावधानअनुसार छात्रवृत्ति छनोट समितिको निर्णय, योग्यताक्रम र प्राथमिकताका आधारमा छनोट भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको नगरप्रमुख सुनील प्रजापतिले बताए । विद्यार्थीले आफ्नो क्षमताअनुसारको विषय रोजेर उच्च शिक्षा हासिल गर्नु उचित हुने सुझाव दिँदैँ उनले अध्ययनशील र मेहनती विद्यार्थीहरुको हरेक क्षेत्रमा विशेष महत्व रहने बताए ।
ख्वप कलेजलाई हालै बिएएलएलबी अध्ययन अध्यापनका लागि स्वीकृति प्राप्त भइसकेको जानकारी दिँदै उनले शिक्षाकै कारण विकसित देशहरु आर्थिक, सामाजिक र राजनैतिक रुपमा अगाडि बढिरहेको बताए ।
उपप्रमुख जोशीले शिक्षा विनाको जीवन अर्थपूर्ण नहुने बताउँदै नगरपालिकाले कक्षा ११ र १२ मा बाहेक नेपालभाषा, भूगोल, राजनीतिशास्त्र, इतिहास र संस्कृति विषय लिएर अध्ययन गरेका विद्यार्थीलाई पनि छात्रवृत्ति वितरण गरिरहेको अवगत गराए । उनले नगरपालिकाले प्रदान गरिरहेको शैक्षिक ऋणबाट पनि धेरै विद्यार्थीलाई उच्च शिक्षा प्राप्त गर्न मद्दत पुर्याइरहेको बताए ।
वडा नं ७ का वडाध्यक्ष उकेश कवांले सन्तोष अध्ययनको शत्रु भएको चर्चा गर्दै गम्भीर र मेहनत गरी आज अध्ययन गरे भोलिको भविष्य उज्यालो हुने बताए । उनले नगरपालिकाबाट सञ्चालित सातवटा शैक्षिक संस्थामा हाल सात हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले छात्रवृत्तिबाट अध्ययन गरेका विद्यार्थी देश र समाजप्रति अझ प्रतिबद्ध भएर काम गर्नुपर्ने बताए । कार्यक्रममा आदर्श आजादका प्रधानाध्यापक श्रीकृष्ण किसी, वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ र नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यलगायतले शिक्षाको महत्व प्रकाश पारेका थिए ।