खुट्टाकै सहाराले लेखेर साहित्यकार बन्ने यमको सपना
शिक्षाखबर डेस्क
९ आश्विन २०७९, आईतवार
no immg

९ असोज, नवलपरासी। नवलपरासीपूर्वको हुप्सेकोट गाउँपालिका–३ जुल्पेटारका यम खाम्चा जन्मजात नै अपाङ्गता भएका व्यक्ति हुन्। उनी बोल्न र हातले केही पनि गर्न सक्दैनन्। तर खुट्टाको सहयोगमा भने अन्य काम गर्छन्।

साहित्यकार झमक घिमिरेको झल्को दिने खाम्चालाई रहर पनि उनीजस्तै बन्ने छ। २५ वर्षीय खाम्चाको स्मरण शक्ति राम्रो छ, मनोबल पनि उच्च छ। उनी खुट्टाको सहायताले लेख्छन् र सामाजिक सञ्जाल प्रयोग गर्छन्। उनका बुबा मनबहादुर खाम्चा भन्छन्, “कुपोषणका कारण शरीरका केही अङ्गले राम्रोसँग काम नगरेको चिकित्सकले बताएपछि निको बनाउने परिवारको आशा निराशामा परिणत भयो।”

अन्य व्यक्तिजस्तै बोल्न र हिँड्न नसके पनि खाम्चाको सपना भने ठूलो छ। खुट्टाको सहायताले उनले कक्षा १२ कक्षा उत्तीर्ण गरे। अब उनी उच्चशिक्षा हासिल गर्ने सुरसारमा छन्। सन्तानको सपना पूरा गराउन परिवार सङ्घर्षशील छ तर अब आर्थिक अवस्था कमजोर हुँदा कसरी पढाउने भन्ने चिन्ताले मनबहादुरलाई सताएको छ।

उनी भन्छन्, “छोराले एसईई परीक्षा उत्तीर्ण गरेपछि पढाइएका रामपुर नगरपालिका–१ बर्दाकोट, पाल्पाबाट दुई वर्षअघि हुप्सेकोट गाउँपालिका–३ मा बसाइँ सरी आएको हो।”

यमलाई भविष्यमा साहित्यकार बन्ने रहर छ। अनि त्यो सपना पूरा गर्ने ठूलो अभिलाषा लिएर अगाडि बढेका उनले अहिलेसम्म चार सय ४६ मुक्तक खुट्टाकै सहाराले लेखिसकेका छन्।

“अब रहर छ, त्यसलाई फुलबुट्टा भरेर सार्वजनिक गर्ने”, उनले भने। अवस्था सहज भने छैन। उनी परिवारका चार सन्तानमध्ये माइलो हुन्। आठ वर्षसम्म ओछ्यानमा बिताएका यमले आफ्नो आवाज अरूसामु पुर्‍याएको देख्दा आमा योगमाया औधी खुसी छिन्।

योगमाया भन्छिन्, “मलाई बिस्तारै बुढ्यौलीले छुँदै छ, ६१ वर्षकी भएँ, छोराको रेखदेखमै दिन बित्छ। जतिबेला पनि पढ्छु, पढ्छु मात्रै भन्छ, तर कसरी पढाउने?”

छोराको भविष्य सम्झिँदै आँसु पुछ्दै उनले भनिन्, “छोराको भविष्यको चिन्ताले सधैँ सताउँछ। उसका लागि केही गरेरै मर्न पाए हुन्थ्यो।”

प्रतिक्रिया