पहिरोले बन्दै गरेको विद्यालय भवन भत्कियो
शिक्षाखबर डेस्क
२३ आश्विन २०७९, आईतवार
no immg

२३ असोज, म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा पहिराले विद्यालयको भवन भत्किएको छ । लुलाङ आधारभूत विद्यालयको दुईकोठे कक्षा कोठा भवन पहिराले भत्किएको हो । विद्यालयका प्रअ नागेन्द्र ठाकुरले पाखोबाट खसेको पहिराले भवनको छानो र पर्खाल भत्किएको जानकारी दिए । “राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट करिब रु ३६ लाखको लागतमा हालै भवन बनाएका थियौँ”, उनले भने, “भवन भत्किँदा पठनपाठनका लागि कक्षा कोठाको अभाव भएको छ ।”

सो भवनमा कक्षा ३ र ८ का विद्यार्थी राखेर पढाउने गरिएको थियो । दुईवटै कोठा बस्नै नमिल्ने गरी भत्किएको छ । दलित समुदायको बाहुल्य बसोबास रहेको लुलाङमा अवस्थित सो विद्यालयमा दुई सय २६ जना विद्यार्थी छन् । चौरमा राखेर पढाउनुपर्ने समस्या भएपछि गत आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट भवन बनाइएको थियो । नयाँ भवन भत्किँदा विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने चिन्ता बढेको प्रअ ठाकुरले बताए ।

यसैगरी बर्सातका कारण रघुगङ्गा गाउँपालिका–३ फूलबारीमा एकवटा घर भत्किएको छ । स्थानीय झिल्के भण्डारीको दुईतले घर भत्किएको वडा सदस्य जीतबहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया