शिक्षामा सुधारको प्रयास गरेँ : शिक्षामन्त्री पौडेल
शिक्षाखबर डेस्क
२६ आश्विन २०७९, बुधबार
no immg

२६ असोज, काठमाडाैँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नो छोटो कार्यकालबीच शिक्षा क्षेत्रमा सुधारको प्रयास गरेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) बागलुङ–२ समन्वय समितिको बैठकमा आज बोल्दै मन्त्री पौडेलले शिक्षासँग सम्बन्धित कानून निर्माणदेखि भौतिक पूर्वाधारमा उल्लेख्य काम भएको बताए । “सात वटा ऐन बनायौँ, सात वटा ऐन प्रक्रियामा छन्, कानून र अर्थ मन्त्रालयबाट सहमति लिनुपर्ने भएकाले बढी समय लाग्यो”, उनले भने, “वर्षौँदेखि जेलिएका शिक्षकका समस्या क्रमशः हल हुँदै जाने स्थिति बनेको छ, निष्क्रिय भएर बसेको शिक्षा सेवा आयोगले गति लिएको छ ।”

उनले द्वन्द्वबाट विस्थापित साढे पाँच सय बढी शिक्षकलाई पुनःबहाली गरिएको उल्लेख गरे । बाँकी शिक्षकको पुनःस्थापनाका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाएको मन्त्री पौडेलले बताए । दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमति पत्रलगायतका कामले पनि गति लिएको उनको भनाइ छ । “शिक्षा क्षेत्रको सुधारमा सक्दो प्रयास गर्र्यौँ भन्ने लाग्छ, समय पनि छोटो भयो, एउटा मात्र बजेट बनाउन पायौँ”, मन्त्री पौडेलले भने, “शिक्षा क्षेत्रलाई अगाडि बढाउन कानूनी संरचना तयार छ, भौतिकतर्फ पनि महत्वपूर्ण उपलब्धि भएको छ ।”

बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका मन्त्री पौडेलले आउँदा दिनमा पनि शिक्षासँगै विकास, निर्माणका कामको नेतृत्व लिन तयार भएर चुनावमा होमिएको धारणा राखे । उनि धवलागिरि क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रको एक्लो उम्मेदवार हुन् ।

विसं २०७४ को निर्वाचनमा तत्कालीन वाम गठबन्धनबाट सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका मन्त्री पौडेल अहिले सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया